मलाइ युरोपको मोहले अरब पुर्ययो !
सम्पूर्णमा नमस्कार! मेरो नाम अर्जुन बोहरा। स्थायी बसोबास कैलालीको चुरे गाउँपालिका वडा नम्बर–५, हो। हाल एक वर्षदेखि साउदी अरेबियामा छु।
अग्रेजी नयाँ वर्षको पूर्वसन्ध्या दिन थियो। अर्थात् २०२३ डिसेम्बरको अन्तिम दिन। दिनभरी कामको व्यस्तताले मोबाइल हेर्न पाइन। अझ भनौ कामको वेला मोबाइल गोजीमा राख्ने अनुमति सम्म थिएन। साझ काम सकेर कोठामा फर्किए। अनि मोबाइल खोलेर हेरे। साथिहरूले फोन, म्यासेज मार्फत नयाँ वर्षको शुभकामना दिएका रहेछन।
सके जतिलाइ म्यासेज फर्काए र मैले पनि दिए नयाँ वर्षको शुभकामना। अनि खाना खाएर सुत्न खोजे। अरू दिन झ्याप्पै निदाउने म, तर खै त्यस दिन मलाइ के भयो निन्द्रा नै लागेन। अघिल्लो वर्ष अर्थात् सन २०२३ जनवरी १ तारेखमा मैले आफ्नो मातृभूमि छोडेर आएको थिए। सायद त्यसैको झल्कोले सतायो मलाइ। मनमनै लाग्न थाल्यो हेर्दा न हेर्दै एक वर्ष त बितिसकेछ क्यारे। तर, खोइ के भयो प्रगति ? जुन उद्देश्य बोकेर आएको हो, त्यो उद्देश्य भयो त पुरा ? ए, त किन आएको भन्त ? यो अरबको घाममा पसिना बगाउन ? मेरो एक मनले म आफैलाई प्रश्न गरीरहेको थियो।
मनमनै गरेका धेरै प्रश्न मध्य एउटा प्रश्नको जवाफ थियो म सङ्ग। र एक मनले सोधेका प्रश्नको जवाफ दिन आफू भित्रै रहेको अर्को मन लालयित भयो र भन्यो, हो मलाइ थाहा छ। मेरो अन्तिम गन्तव्य यो अरबको खाडी हुँदै होइन। तर, बाधयताको भुमरीमा फसेर आज म यहाँ छु। फेरि मेरो धेरै ठूलो लक्ष्य पनि थिएन। मेरो सपना रहर जे भने पनि युरोप महादेश जाने थियो। सङ्गैका दौतरी जापान, कोरिया, अमेरिका र अस्ट्रेलिया गएको देख्दा मेरो मन भने युरोप तर्फ आकर्षित भयो। मलाइ जुनसुकै हालतमा युरोप जानु थियो। तर, भन्ने बितिन्कै जान मेरो आर्थिक अवस्थाले दिदैन थियो। अब मैले विकल्प खोज्न थाले। त्यसवेला म स्नातक प्रथम वर्षमा अध्ययन गर्दथे, जतिवेला मलाइ युरोप जाने सपनाले एकोहोरो बनाएको थियो। पढाइ सङ्गै म एउटा मिडिया पर्सनका रूपमा समेत काम गरेको मान्छे। त्यसवेला नेपालको एउटा उत्कृष्ट राष्ट्रिय टेलिभिजनमा काम गरिरहेको थिए। त्यो जागिरबाट मेरो सामान्य पढाइ खर्च त चलिरहेको थियो। तर, मिडियामा पनि दिगो भविष्य नदेखे पछी म झनै आजित बनिसकेको थिए। त्यसमाथी मेरो त्यो युरोपको सपना। म केही समय दोधारमा परे।
यसको मतलब कि मैले जागिरलाई नै निरन्तरता दिनुपर्यो कि युरोपको यात्रा तय गर्नुपर्यो। केही समय दोधारमै अल्झिए। मैले घरमा पनि सल्लाह गरे। घरकाले पनि विदेश जानू नै उचित हुने सुझाव दिए। त्यसपछि मलाइ पनि निर्णय लिन सजिलो भयो र जागिर छोडेर विदेशको तयारी गर्न थाले । विदेश पनि अब जाने कहाँ ? मैले चाहेको मुलुक( युरोप) जान लाग्ने लागत म सङ्ग थिएन। सामान्यतया अहिले युरोप जानको लागि ८–१० लाख सम्म म्यानपावर एजेन्सीलाई बुझाउनै पर्छ। यहि पैसा बन्यो मेरो सपनाको बाधक । यतिका धेरै पैसा जुटाउने सामर्थ्य मेरो थिएन। म आफै परनिर्भर मान्छे घरमा भनौ भने वृद्ध भत्ता खाने बाबा आमा हुनुहुन्छ। मैले त्यहाँ जान लाग्ने लागत जुटाउन नसकेपछि बाध्य भएर खाडी मुलुकको यात्रा तय गरे। किनकी यहाँ अलि सुलभ मूल्यमा आउन पाइने रहेछ। त्यसपछि मन गाँठो पारेरै म साउदी अरेबिया पुगे । तर यहाँ आइपुग्दा समेत मेरो युरोप प्रतिको मोह उत्तिकै छ र रहिरहने छ ।
केही वर्ष यतै दुख गरेर धन आर्जन गर्छु र त्यही पैसाले युरोप जान्छु भन्ने ठूलो अपेक्षा बोकेको छु अझैसम्म। मेरो यो सपना पूरा होला नहोला। तर मलाइ युरोपले यसरी मोहनी लगाएको छ कि म आफैले बुझ्न सकिरहेको छैन कि आखिर किन युरोप प्रति मेरो यति धेरै आकर्षण छ ? तर जे सुकैहोस मलाई अब एकचोटि युरोप जानु छ । खाडीले मलाइ कामको थोरै पारिश्रमिक बाहेक केही दिएको छैन। बरु धेरै कुरा गुमाएको छु । अझ भन्नुपर्दा खाडी मुलुक प्रतिको दृष्टिकोण नै अलग छ। त्यही कारण पनि मलाइ अब बस्न मन नभएको हो यो अरबको खाडीमा।