सुदूर नेपाललाई विश्वसँग जोड्दै

गृहले ललितपुरका सीडीओ र प्रहरी प्रमुखलाई फिर्ता बोलायो

२०८० पुष १४, १०:३३ खबर संवाददाता

काठमाडौँः  गृह मन्त्रालयले ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला प्रहरी प्रमुखलाई फिर्ता बोलाएको छ।

बालकुमारी घटनामा सुरक्षा चुकका कारण दुई जनाको ज्यान गएपछि शनिवार उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तरीय निर्णयबाट ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई मन्त्रालय तानिएको छ। यस्तै, ललितपुरका प्रहरी प्रमुख एसएपी सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालय तानिएको गृहले जनाएको छ।

“ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालयमा र जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षकलाई नेपाल प्रहरी प्रधान कार्यालयमा फिर्ता गरिएको छ,” मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ। उक्त घटनाका सन्दर्भमा छानबिन समितिले काम गरिरहेको भन्दै मन्त्रालयले प्रतिवेदन प्राप्त भएपछि त्यसै बमोजिम कार्यान्वयन गरिने जनाएको छ।

छानबिन समितिको कामलाई वस्तुनिष्ठ बनाउन घटनास्थलमा सुरक्षा कमान्डको जिम्मेवारीमा खटिएका जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेश लम्साल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको सुरक्षामा खटिएका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) प्रहरी सहायक निरीक्षक बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णय भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायण भट्टराईले बताए। कोरिया शाखा कार्यालयका निर्देशक गुरुदत्त सुवेदी पनि निलम्बनमा परेका छन्। शुक्रबार कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा सुरक्षा दिने क्रममा प्रहरीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको थियो।
 

कमेन्ट लोड गर्नुस