सुदूर नेपाललाई विश्वसँग जोड्दै

परम्परागत विवाह भाग –२ 

२०८० पुष १४, १०:००

मान सिंह धामी (भौनबाटी) : यो विवाह संस्मरण भाग– २ पनि मैले सामाजिक सञ्जालमा संप्रेषण त गरि सकेकोछु । तर यसपटक भने मैले यस लेखमा केही नौलोपन ल्याउने तथा थप्नैपर्ने छुटेका कुराहरू पाठक समक्ष पस्कने जमर्काे गरेकोछु।

मैले मेरो विवाहको बेलिबिस्तार लगाउँदै जाने क्रममा म बेहुला (राजा) करीब १५० जना जन्ती (बरेती) को साथमा रङ्ग तमासा सहित बेहुली (रानी) जमुनाको माइतीघर पुगेर डोली पर्छेर कोरसौलामा जानेबेला जुत्ता हराएर फसाद परेपछि अब के भयो होला त ? भन्ने पाठकहरूको जिज्ञासा तथा खुल्दुली भने पक्कै पनि मेटाउने प्रयास गर्नेछु । जमुनाको माइती पक्षका समाजसेवी एवम् नेता पनि दाइ श्री झुसाल सिंह धामीज्यूले केटाकेटीलाई हकार्दै बेहुलापक्षबाट कलश भेटी राखेपछि जुत्ता फिर्ता गरियो । बेहुलाको जुत्ता हराउनु वा लुकाउनुमा जमुनाका साँखाहरूको कुनै कुनियत भने थिएन है । जुत्ता लुकाउने त्यहाँको परम्परा जस्तै रहेछ । बेहुली पक्षका जमुनाका दाइ अहिले यो धर्तीमा हुनु हुन्न । उहाँको बैकुण्ठ बासको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।

बेहुला पक्षका बरेतीहरूलाई कोरसौलामै चियापानले सत्कार गरेपछि करिब रातको १०ः०० बजेतिर जन्ती बरेतीहरूको खाना तयार भयो । परम्परागत विवाह जस्तै खानापनि परम्परागत नै थियो । खानाका परिकारहरू के के थिए ? कसले पकायो ? कसरी बरेतीहरूले खाना खाए भन्ने सन्दर्भ यसपछिको भाग – ३ मा उल्लेखगर्ने छु । आफू त बेहुला (राजा) भएकोले विशेष सत्कारका साथ गलैंचा (दन) मा बसेर पलेटी कसेर सेलपुरी, लाउन, हलुवा, केराको अचार, कोइरालको अचार, तरकारी, सायद बेहुला घरबाट लगिएकै धिनाली (दही) हुनु पर्छ ! मज्जाले भविष्यका सपनाहरू बुन्दैएक कसैको श्रीमान, कसैको भेना, कसैको ज्वाँई वन्दैगरेको आनन्दानुभूति सहित खाएको अहिले पनि स्मरण छ । खाना खाएर बरेतीहरू सुत्नको लागि कोही तल्लोघरमा गए, कोही कतै गए त कोही गैसको उज्यालोमा कोरसौलामा नै बसेर दहल पगड तास खेल्न थाले सायद ! म बेहुला, सिन्याडी पतरे बाजे, ब्रहृमण जयदत्त काका, धरमसिंह दादा,  बुवा, दानसिंह काका, दामोदर अंकल, पुरन प्रधान बाजे, मामा लगायतका ८/१० जना हामी जमुनाकै घरमा सुते । सुत्ने व्यवस्था धेरै राम्रो गरेको थियो हाम्रो लागि । भित्र कोठाको छेउको भकारीको माथि गैसको चहकिलो प्रकाशमा सफा बुट्टेदार गलैचा (दन) ओछ्याएको र सुकिला सिरक ओड्नको लागि व्यवस्था गरिएको थियो । यस्तो राम्रो व्यवस्थापनको लागि जमुना र जमुनाका माइतीहरूलाई धन्यवाद नदिइ रहन सक्दैन । बाहिर कोही दोहोरी खेल खेल्दैछन्, कोही केहिकाममा व्यस्त छन् भने हामी भने कोलाहलका बाबजुद पनि निदाएछौं । एक कुरा त भन्नै बिर्सेछु ः हामी सुत्ने भकारीको छेउमा सलाई र याक चुरोटको बट्टापनि राखिएको थियो । सुत्नुभन्दा अगाडि अम्मलीहरूले चुरोट पनि खाँदै गरेको दृश्य अहिले पनि मानस पटलमा ताजै छ । शुभरात्री !!

रातीको ३ः०० बजेतिर जयदत्त काकाले उठ सबैजना, ४ः०० बजेको विहेको लगन छ भनेर आवाज (डाँको) लगाएपछि आँखा मिच्दै हामीहरू उठ्यौं । जग्गे (विवाह मण्डप) मा सबै सरजामहरूको व्यवस्थापनको काम पनि सकियो । विवाह कर्मकाण्डको लागि गोठ खाली गरेर गोठमा नै जग्गे बनाइएको थियो । गोठको जग्गेमा गर्ने सबै कर्मकाण्ड बेहुला बेहुली पक्षका ब्राह्मण तथा आपन्तहरूले वाडोबाट नै बेहुला बेहुलीको देखाभेट नभइकनै बेहुलीको हातको बुढी औंला समात्ने, बेहुलीले बेहुलाको खुट्टा धुने, जुठो खाने खुवाउने, गरगहना लगाउने लगायतका सबै कर्महरू एकैछिनमा सकेर बाहिर विवाह मण्डपमा विहेको लागि सरोकारवाला सबैजना आयौं ।

विवाह मण्डपमा बेहुला बेहुली (जमुना) ...
गोठ भित्रको बिहेको कर्मकाण्ड सकेर राजा (बेहुला) कमिज, पाइन्ट, एलटी जाकेट, खाकीको जुत्ता, कम्मरमा सानो खुकुरी भिरेको, घाँछीमा दुबो र रुपैयाँको माला, ढाकाको टोपी, रिवन चश्माद्वारा सुसज्जित राजा र गरगहना, साडी ब्लाउज, रातो सुइटर, रातो चमकदार घुम्टोद्वारा सजिएकि लजालु स्वभावकी बेहुली जमुनालाई  दुबै पक्षका प्रजाहरूले  राजा र जमुनालाई एक अर्काेबाट नछुट्टिने गरेर व्यसाडो ( बेहुला र बेहुलीले कम्मरमा बाध्ने करिब अढाई तीन मिटर लामो कपडा) ले तयार पारे पछि सबैजना बाहिर विवाह मण्डपमा भेला भए । विहे हेर्नकोलागि साली हुनैलागेका जुत्ता लुकाउने जमुनाका साँखाहरू लगायत धेरै जनाको उपस्थिति भयो ।

विवाह मण्डपको सजावट सम्बन्धी पनि थोरै चर्चागर्नु सान्दर्भिक हुन्छ । मण्डपको चारकुनामा चारवटा केराका थुम गाडिएका थिए । रातो, हरियो, पहेंलो, सेतो, कालो रङ्गद्वारा निर्मित झट्ट हेर्दा दन (गलैंचा) जस्तै देखिने बुट्टेदार बेती, बेतीको माथि झुल चन्दन लगाएको र मण्डपको चारैतिर रङ्गीचङ्गी ध्वजा पताकाहरूले सिङ्गारेको थियो । विवाह मण्डपको चारैतिर तल पराल बिछाएर माथि रङ्गीबिरङ्गगी दनहरू गैसको चहकिलो प्रकाशमा मनमोहक र आकर्षक देखिएको थियो । दनहरूको बाहिर मण्डपको चारैतिर बेहुला बेहुलीले परिक्रमा गर्नकोलागि ठाउँ छोडेर लामवद्ध भएर दर्शकहरू उभिएका थिए ।
विवाह मण्डपमा राजा र जमुनाको विवाहको पूर्ण तयारी !

परम्परागत विवाह एक संस्मरण

बाँकि भाग – ४ मा पढ्न नभुल्नु होला ।


 

कमेन्ट लोड गर्नुस