वनका ‘हाकिम’ले छोडेको तस्करीको काठ उपभोक्ताले लुकाएको भेटाए
धनगढीः कैलालीको सव–डिभिजन वन कार्यालय, अत्तरियाका प्रमुख निरञ्जन कडेलले छोडको तस्करीको काठ उपभोक्ताहरूले लुकाएको भेटाएका छन।
जिल्लाको गोदावरी नगरपालिका–१ वसन्तपुरको जङ्गलबाट जागृति महिला सामुदायिक वनका पदाधिकारी र उपभोक्ताहरूले प्रहरीमा बुझाएको काठ डिभिजन वन कार्यालय, अत्तरियाका प्रमुख कडेलले कारबाहीसमेत नगरेर छोडेकोमा बिहिवार लुकाइएको भेटिएको हो।
प्रहरीले बरामद गरेर वन कार्यालयलाई बुझाएको काठ लुकाएपछि उपभोक्ताहरूले विरोध गरेका छन्। मङ्गलवार इलाका प्रहरी कार्यालय मालाखेतीले सामुदायिक वनबाट नियन्त्रणमा लिएको एक ट्याक्टरको ट्रली काठ सब–डिभिजन वन कार्यालयकै अलग–अलग स्थानमा लुकाएर राखिएको भेटिएको हो। सब–डिभिजन कार्यालय, अत्तरिया घेराउ गर्न पुगेका उपभोक्ताहरूले बिहिवार तस्करीको खयरको काठ फरक–फरक स्थानमा लुकाएको भेटाएका विशाल भट्टले बताए।
काठ सामुदायिक वनको जानकारी बिनै कारबाही नै नगरी छोडिएको थियो। विरोधमा बिहिवार सब–डिभिजन वन कार्यालय घेराउका लागि आएका उपभोक्ताहरूले नै तस्करीको काठ लुकाएको अवस्थामा फेला पारेका हुन। लुकाइएको अवस्थामा तस्करीको खयरको काठ भेटिएको जागृत महिला सामुदायिक वन उपभोक्ता समितिकी अध्यक्ष नारु देवी खडायतले बताइन्। कारबाही नै नगरी ट्याक्टरसहित तीन जना छोडिएको र काठ लुकाइएको भेटिँदा मिलेमतो भएको उनले बताइन।
सामुदायिक वनबाट काटिएका खयर अलग–अलग ठाउँमा लुकाइएको अवस्थामा भेटिएको हो। चार गोलिया खयर फेला परेका हुन। उनले भनिन् ‘यो देखाएर तपाईँका त दाउरा मात्रै छन् भनेर काठ छैन भनेर मिलाउन खोजेका रहेछन्।’ उनले वन कार्यालयमा लुकाइएको काठ आफूहरूकै भएको र त्यसलाई पुरानो देखाउन माटो समेत दलिएको बताइन्।
स्थानीयले मिलेमतोमा वनका हाकिमले काठ काट्नेलाई उन्मुक्ति दिएको र काठ लुकाएको आरोप लगाएका छन्। वनका हाकिमकै मिलेमतोमा काठ लुकाइएको भन्दै स्थानीयहरूले सब–डिभिजन वन कार्यालयमा तालाबन्दी गर्न खोजीरहेको अवस्थामा प्रहरीले रोकेको थियो।
उपभोक्ताहरूले शुक्रवार सब–डिभिजन वन कार्यालय, अत्तरियाका प्रमुख कडेलका विरोधमा डिभिजन वन कार्यालय, धनगढीमा उजुरी दिने योजना बनाएका छन। तर, सब–डिभिजन वन कार्यालय, अत्तरियाले पञ्चकोटी सामुदायिक वनको पर्चा काटेकाले कठसहितको ट्याक्टर र तीन जनालाई छोडेको दाबी गर्दै आएको छ। सब–डिभिजन वन कार्यालयले प्रहरीले पत्रसहित बुझाएका तीन जना, से १ त ६४४९ नम्बरको ट्याक्टर र काठलाई बुधवार छोडेको थियो।