सुदूर नेपाललाई विश्वसँग जोड्दै

परम्परागत विवाह एक संस्मरण 

२०८० पुष १२, ०९:५५

मान सिंह धामी (भौनबाटी) :  परम्परागत विवाहको चर्चा परिचर्चा गरिरहँदा आधुनिक विवाह र परम्परागत विवाहको बिच ठुलो खाडल रहेको कुरालाई जो कोही पनि स्वीकार गर्न तयार हुनेछन् । परम्परागत विवाह, भेषभूषा, रीतिरिवाज, चालचलन अहिलेको तुलनामा अर्गानिक हुने गर्दथ्यो । म साहित्य तथा राजनीति  शास्त्रको विद्यार्थी नभए पनि मैले सामाजिक सञ्जालमा लेखेका आत्मकथाहरुबाट मेरा शुभचिन्तक सम्पूर्ण पाठकहरुबाट पाएको सल्लाह सुझाव र थप जिज्ञासाले गर्दा म हौंसिएको  पनि छु । पाठकहरुबाट पाएको यही हौंसलाले गर्दा मेरो जीवनका केही थप आत्मकथाहरु लेखूँ लेखूँ लागिरहेको छ । यसरी मैले सामाजिक सञ्जालमा आत्मवृत्तान्त यहाँहरु समक्ष पेस गर्ने जमर्काे गर्दा यो मेरो साहित्य बिनाको कोरा शब्दहरु पढेर पाठकहरुले  खिल्ली पो उडाउने हुन कि ? भन्ने मनमा संकोच त लागि नै रहेको छ । तर पनि यो लेखले भावीपुस्ताको मनमा भने आश्चर्यवोध र प्रेरणाको स्रोत बन्ने छ भन्ने विश्वास  लिएको छु । भावीपुस्तालाई यो लेखमा के रहेछ त ? पढीहालौं  न त भनेर जिज्ञासा पक्कै पनि पलाउन सक्छ ।
 हुन त  मैले विवाह प्रसङ्गलाई यस लेखमा उल्लेख गर्न खोजेको हुँ । तर कहाँबाट कसरी सुरु गर्ने ? केही अडकल आइरहेको छैन हजुर...। जे पो होला बिषय प्रवेशगर्ने अनुमति मागे है । कुरा वि. सं. २०४६ साल मंसिर १७ गते बिहिवारको  हो । त्यो दिन मेरो लागि एक नौलो अनुभव, बचपनबाट जवानी अवस्थामा प्रवेश गरेको स्वर्णिम युग थियो कि भन्ने लागिरहेको छ । विवाहित जोडीहरुले यो लेख पढ्दा  आफूलाई कुन दर्जा र युगसँग तुलना गर्नु हुन्छ ! त्यसमा मेरो भन्नु केही छैन । मनमा कत्ति पनि कुरा नलुकाई मेरो विवाहको बेलीविस्तार लगाउन गइरहेको छु।

आफू निकट भविष्यमा कसैको पति, कसैको भिनाजु , कसैको ज्वाइँ (जमाई) बन्ने र ससुराली घर हुने जोसजाँगर र उमंगले म फुरुङ्ग भने नभएको होइन । मंसिर महिनाको सुरुवात सँगै विवाहको लागि तयारी हुन थाल्यो । रासनपानी, गरगहना, लत्ताकपडा, पैंसाटाका आदिको जोहो मिलाए आमाबुवा लगायत छरछिमेकीहरूले । गाउँका अंकल (काका), दाजुहरु, बाजे विभिन्न नातापर्ने मेरा अग्रजहरु कोही कोथला (सनपाटबाट निर्मित ठुलो थैलो) मा गहुँ, मकै हालेर घट्ट गए, कोही विवाहको लागि सरसामान किनमेल गर्न जौलजिबी गए त बुवा गरगहाना बनाउन दार्चुला जानु भयो । वल्लापल्ला घरमा आन्टी (काकी), बौजू (भाउजू), दिदी, फुपूहरुले ओखलमा धान कुट्नु भयो । करिब हप्तादिनमा विवाहको लागि चाहिने सरजाम (सामान) तयार भयो । घर लिपपोत  (रातो माटोले भित्र पट्टि र बाहिर कमेरो र रातो माटो) गरियो । विवाहमा सघाउनु हुने सम्पूर्णलाई नमन गर्दछु । अहिलेको जस्तो विवाहकार्ड छाप्ने चलन थिएन । सञ्चार प्रविधिको विकास भएको थिएन । जोला जनै र सुपारीसहित आफ्ना इष्टमित्रहरु (मामा, फूपू, दिदी)  आदि सबै सबैलाई स्वयम् घरमै गएर विहेको लागि न्युतो (निमन्त्रणा) दिईयो । जनै र सुपारीको पोका पारेर गाउँघर, टोल, छिमेकमा पनि न्युतो दिइयो ।

     विवाह लगन नजिकै आइपुग्यो सरजामको जोहो गर्दै । मंसिर १६ गते साँझ सेलरोटीसहितको दशमी मनाउनु भयो सबैले । अझ रोचक कुरा त भन्नै विर्सेछु ! न्युतेर (निम्तालु) घरमा आइपुग्ने बित्तिकै अक्षता पिठाँको टीकाले स्वागत गरी मुखविटाल (घिउ मिलाएको गुड) दिइन्थ्यो । दुध हालेर बनाएको चियासँगै गुडको कट्कीले स्वागत गरिन्थ्यो । साँच्चिकै त्यो दिन मुखैमा पुग्यो र म ब्यौलो (बेहुला) हुने भए । १७ गते बिहानै सबै न्युतेरहरु घरमा टुप्लुक्क आइपुगे । टाढाबाट आउने न्युतेरहरु त दशमीकै दिन आइसकेका थिए । जन्तीजाने तयारी हुन थाल्यो । म त त्यो दिनको राजा नै भैहाले, अरु न्युतेरहरु कोही ताइपश्चर (सेलरोटी) लगाउन थाले, कोही ध्वजा पताका लगाउन (पतंग) थाले, कोही केलाका थुम (बोट) बाट निर्मित गेट बनाउने त कोही चाहा (चिया) पकाउने, कोही भाँडा धुने (बौजू, काकी आदि), कोही उखु पेल्ने सबै काम एकै छिनमा सकियो । डोली (तापदानी) पताकाहरुले सजाइयो । मसकिबिन बजाउँदै केशर अंकल पनि पारी दोबाटामा देखिए । विवाहमा मसकिबिन बजाउने अंकल अहिले यो धर्तीमा हुनु हुन्न, वहाँलाई श्रद्धासुमन अर्पण गर्न चाहन्छु । बरेती जाने सबै बरेतीहरु तयार भए ।

     अब यहाँहरुलाई ब्यौलाको बारेमा खुल्दुली पनि भयो होला । सरसफाईमा त म सानै उमेरदेखि ध्यान दिने गर्दथे । कपाल, नङ काटैकै थिएँ । दाह्री जुङ्गा आएको थिएन । अहिलेको तडकभडक भन्दा त्यतिबेला पक्कै पनि फरक थियो भन्नमा द्विमत नहोला । सबै कुरा भन्यो भने पाठकहरु हाँस्ने पो हुन कि या ब्यौलाको खिल्ली उडाउने पो हुन कि भनेर  मनमा कता कता संकोच लागिरहेकोछ । अहिलेको जस्तो बेहुलाको लागि विशेष पोसाक कोट, पाइन्टको खासै चलन थिएन । अब राजालाई एलटी ज्याकेट, बेलीबटन पाइन्ट, ढाका रोपी, खाकीको जुत्ता, मुकुट, रिवन चस्मा, घाँटीमा दुबो र रुपैयाँको माला, कम्मरमा सानो खुकुरी, मुखमा कुरमुली (सिन्दुर, पिठोबाट निर्मित बुट्टा) छेकेर सजाइयो । म राजाले साच्चिकै ब्यौलाको पदवी पाए । त्यतिबेला फोटो खिच्न पनि क्यामेराको व्यवस्था कहाँ हुनु र हजुर ! गाउँले परिवेश । जन्ती बटिन्या (तयार) बेला महिलाहरु सगुना फाग गाउदै र ब्राह्मण जयदत्त अवस्थी अंकल बेदपाठ सहितको मन्त्रोच्चारणले अभिषेक गर्दै ब्यौलालाई बिदाई गर्नु भयो र  अब ब्यौलो डोलीमा बसेर मसाकिबिनको धूनमा करीब १५० जनाको हाराहारीमा बरेती (जन्ती) बुवा, भणरे, पतरे, मुखिया सहितको गुल्म (जत्था) दिउँसो २ः०० बजेतिर ब्यौली (बेहुली) जमुनाको घर बाराको लागि प्रस्थान भयौं ।

मेरो विवाह गुल्म (जत्था) घरबाट माथि उकालो छानागैर हरि अंकलको घरको माथिबाट हुँदै मसकीबिनको संगीतमय धुन र वेकुल ( बिगुल) को मिठो ध्वनिसंगै माथि उकालो सचिव अंकलको घरबाट हुँदै ठुलीखाली चौरमा रमाइलो गर्दै पुगियो । बरेती बिस्तारै कछुवाको गतिमा अगाडि सर्दै गरेको रोचक दृश्यले साँच्चिकै म ठुलै मान्छे भएछु कि क्या हो ? मनमनै गदगद भैरहेको थिएँ । बरेती जाने बाटो बाटोमा रामायण, महाभारत, गीताका पुस्तक राखिएका थिए त कतै स्याउला र कतै सल्लाको हरियो पिरोल विछ्याइएको देखिन्थ्यो । कतै बाटो बाटोमा महिला दिदीबहिनीहरु सगुना ( सगुन) गाइरहेका थिए । बाटोमा राखिएका पुस्तक, स्याउला, पिरोलमा गच्छे अनुसार रुपैयाँ पैंसा राख्ने, गुडको भेल्ली दिने काम दान सिंह काका (चक्कीवाला) गरिरहनु भएको थियो । एवम प्रकारले बरेती (जन्ती) स्याउलेको लेक, लोदयाकोसैन, ऐरिछाना, बुरौंस्या, जेठीबौरानीका ढुङ्गा, लटिनाथ मन्दिर जयपूर, चौपाता हुँदै ब्यौली (जमुना) को घरको माथि लेकमा पुगियो । लेकबाट तल पाती (बारा) मा मानिसहरुको चहलपहल भैरहेको देखियो । बरेतीहरुले एकछिन विश्राम गरेर भाइ रुपेन्द्र लगायतका फुच्चे (केटाकेटी) हरुलाई ब्यौलीको घरमा सभ्य तरिकाले प्रस्तुत हुन बुवा लगायतका सिन्याडीका पतरे बाजेले निर्देशित गर्नु भयो । फुच्चेहरुले पनि हँमा हँ मिलायो र एकछिनको विश्राम पछि राजा र प्रजा (जन्ती र बेहुला) हरु ओरालो जमुनाको घरतिर प्रस्थान भयौं । करिव साँझको ७ः०० बजेतिर मन्द उज्यालोमा गैसको चहकिलो प्रकाशको साथमा ब्यौलीघर पुगियो । यो लेख पढ्ने साना बाबू नानीहरुलाई फुच्चे भन्ने शब्दले घोचेको हेपेको अनुभूति हुन सक्छ, मायाले फुच्चे शब्द प्रयोग गरेको व्यहोरा पनि अनुरोध गरे है ।

ब्यौली घर पनि  लिपपोत गरि ध्वजा पताकाले सु–सज्जित बाहिर आगनमा केराका थुम (बोट) द्वारा निर्मित जग्गे (विवाह मण्डप) मा ब्राह्मण लगायत को को हुन ? सबै सबै थिए ।  तापदानीमा सवार ब्यौलो घर आगनको छेउमै पुग्दा ब्यौली घरका दुईजना लख्खा जवानले तापदानी काँध हाल्दै जग्गे नजिक पुगायो र ब्यौली पक्षबाट पनि तादानीमै सवार एकजनाले वरमाला पहिराए । तापदानीबाट ओर्लिएपछि जग्गेमा जानू पर्ने हुँदा जुत्ता फुकालियो र जग्गेमा गए । दुवै पक्षबाट गर्नु पर्ने काम सम्पन्न गरी कोरसौलामा जानको लागि जुत्ता लगाउन खोजेको त जुत्ता त हराइसकेको रहेछ । टाउकोमा कलश बोकेका साली हुनगइरहेका  ५÷७ जना साना साना नानीहरु खिल्खिल्ती हाँस्न पो थाले । अब पर्याे फसाद ! त्यसपछि के भयो होला भन्ने पाठकलाई जिज्ञासा भएमा यस पछिको लेखमा उल्लेख गर्ने बाचा गर्दै अहिलेलाई बिट मारे है ।

मान सिंह धामी (भौनबाटी)
उप–प्राध्यापक
कैलाली बहुमुखी क्याम्पस, धनगढी
स्थायी ठेगाना :
मालिकार्जुन गाउँपालिका – ४ हुनैनाथ गोठ्युडी
दार्चुला

 

कमेन्ट लोड गर्नुस