सुदूर नेपाललाई विश्वसँग जोड्दै

यस्तो बन्दैछ धनगढीको 'अत्याधुनिक बसपार्क'

२०८० पुष १०, ०७:२८ नारायण अवस्थी

धनगढी: धनगढी उपमहानगरपालिका वडा नम्बर-३ मा ‘अत्याधुनिक बसपार्क’ बन्ने भएको छ। धनगढी उपमहानगरपालिकाले बसपार्क निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिसकेको छ।

डिपिआर तयार भएसँगै प्रस्तावित बसपार्कको प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन (आइई) गरिने नगरप्रमुख गोपाल हमालले बताएका छन्। उनले पुस महिनाभित्र आइईको काम सम्पन्न हुने बताएका छन्। आइई प्रदेश सरकारबाट पास भएपछि जग्गा प्राप्तिका लागि प्रक्रिया अगाडि बढ्ने नगरप्रमुख हमालले बताए।

‘आइई प्रदेश सरकारबाट पास भएपछि जग्गा प्राप्तिका लागि संघीय सरकारको वन मन्त्रालयमा हाम्रो कामकारबाही सुरु हुन्छ,’ उनले भने, ‘बसपार्क निर्माण हुने ठाउँमा कुनै पनि जंगल छैन, त्यसैले सहज तरिकाले जग्गा प्राप्ति हुन्छ भन्ने आशा छ।’ धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को कालिकानगरमा बन्ने बसपार्कमा अत्याधुनिक सुविधाहरू उपलब्ध हुने नगरप्रमुख हमालको भनाइ छ।

बसपार्क निर्माण भएपछि उक्त बसपार्क धनगढीको पहिचान बन्ने उनको आँकलन छ। नगरप्रमुख हमालले दुई तले बसपार्कमा प्रहरी चौकी चिकित्सक सहितको १० शय्याको अस्पताल, बैठक कक्ष र स्पाहरू हुनेछन्। ‘बसपार्कमा दुई तला हुन्छ। पहिलो तलामा तुरुन्तै जाने यात्रुहरूका लागि प्रतिक्षालय बनाइएको हुन्छ। दोस्रो तलामा अलि ढिलो जाने यात्रुको प्रतिक्षालय बनाइन्छ,’ नगरप्रमुख हमालले भने, ‘चार ठाउँबाट लामो, मध्यम, छोटो दूरी र स्थानीय रुटमा गाडीहरू छुट्नेछन्।’

नगरप्रमुख हमालले बसपार्क निर्माण गर्न ९९ करोड ३५ लाख ६० हजार ४७२ रुपैयाँ ७२ पैसा लागत अनुमान गरिएको बताएका छन्। ८० प्रतिशत नगर विकास कोष र बाँकी धनगढी उपमहानगरपालिकाको लगानीमा बसपार्क निर्माण गरिने भएको हो। सम्झौता भएको दुई वर्षमा बसपार्क निर्माणको काम सम्पन्न हुने कुरा डिपिआरमा उल्लेख गरिएको छ।

बसपार्क निर्माण गर्न नगर विकास कोषबाट ८ प्रतिशत ब्याजदरमा २५ वर्षका लागि ऋण उपलब्ध हुने नगरप्रमुख हमालले बताएका छन्। बसपार्कबाट वार्षिक १३ करोड ६६ लाख ३५ हजार आम्दानी हुने र नगर विकास कोषबाट मिलेको ऋण चुक्ता गर्न केबल ८ वर्षको आम्दानीले पुग्ने बताइएको छ। त्यसपछिको आम्दानी नगरपालिकाको आन्तरिक आयमा जोडिने नगरप्रमुख हमालले बताए।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस