चुरेबाट बग्ने खोलाहरु अनियन्त्रित, ‘रिचार्ज जोन’ नै संकटमा
धनगढीः कैलालीको गोदावरी नगरपालिका–१२ ओलानीमा बस्दै आएका किसन खत्री पानी अभावमा बस्ती सर्न थालेपछि चिन्तित छन्।
बढ्दो वन विनाश, चुरे दोहोन, पानीका स्रोत सुकेर त्यसको विकल्प खोज्दै बस्ती सर्नु नै उनी चिन्तित हुनाका कारण हुन्। भोकमरी टार्नकै लागि मछेली खोलाको लोभलाग्दो पानी, पशुपालनका लागि पर्याप्त चरिचरन देखेर आफूहरू चुरेफेदीको ओलानीमा बसेको उनी बताउँछन्। त्यतिबेला मछेली खोलामा पर्याप्त पानी थियो, त्यही पानी सिंचाइ र पिउनका लागि प्रयोग हुथ्यो, उनी भन्छन्, ‘अहिले त सिंचाइको कुरै छोडौं पिउने पानीको हाहाकार छ।
बढ्दो चुरे विनाशका कारण पानीका स्रोत सुकेपछि स्थानीयको जीविकोपार्जनमा समेत असर पर्न थालेको छ।’ आकाशे पानीकै भरमा खेती लगाउनु पर्छ, बढ्दो वन विनाशले मछेली खोलामा गेग्रान भरिएर भएको पानी पनि भित्रभित्रै बगेर जान थालेको छ। चुरे पहाडको फेदीमा जंगल फाँडेर बस्ती बस्दा त्यतिबेला नै डाक्टर केआई सिंहले भनेका कुरा सम्झँदै उनी भन्छन, ‘चुरे पहाडको फेदीमा नबस्, अरु ठाउँमा म जग्गाको व्यवस्था गरिदिन्छु, भविष्यमा तिमीहरूलाई पानीको संकट पर्नेछ’ भनेकै हुन।
त्रिभुवन विश्वबिद्यालय तथा इन्जिनियरिङ्ग भुगर्भबिद डाक्टर सुबोध ढकालका अनुसार अति नै कमजोर र सुक्ष्म माटोका कणहरुबाट बनेका मडस्टोन, बालुवाबाट बनेका स्यान्डस्टोन र बिभिन्न आकारका ग्रेभेलहरुबाट बनेका कोङ्ग्लोमेरेट जस्ता चट्टानहरु चुरे क्षेत्रको भुगर्भको मुख्य संरचना हो। अहिले चुरे क्षेत्रमा पनि बिभिन्न बिकास निर्माण र पूर्वधार बिकासका काम भइरहेकोले सडक निर्माण प्रकृयाले चट्टान टुक्रिने, खिइने र भुक्षेय हुने प्रकृया झन् बढेर गएको छ।
चुरे क्षेत्रको चट्टानी भिरमा खनिएका सडक मार्गका अनेक ठाउँमा पहिरो र भुक्षेयको समस्या बिकराल छ। बनजङ्गल फँडानी तथा बनजङ्गल माथिको अतिक्रमण र उक्त स्थानहरुमा गरिएका अनियन्त्रित र अबैज्ञानिक बस्तीका कारण पानीका स्रोत सुक्ने गरेको उनले बताए। पानीको स्रोत नै चुरे भएकोले संरक्षण जरुरी छ।
चुरे अतिक्रमण गरी नयाँ बस्ती बसाउने चलन, बन फँडानी तथा जथाभाबी खोलाहरुमा अतिक्रमण अनि चट्टानी भिरहरुबाट र खोलाहरुबाट जथाभाबी ढुङगा गिट्टी निकाल्ने चलनले चुरेमाथि प्रहार भइरहेको छ। चुरे क्षेत्र भाबर र तराइको लागी पानीको महत्वपुर्ण रिचार्ज जोनको रुपमा रहेको छ। चुरेको पहिरो र भुक्षयको कारणले चुरेबाट बग्ने खोलाहरु अनियन्त्रित भएर बग्ने र बाढीको थप समस्या निम्त्याउने संभावना बढ्दै गएको छ। चुर विज्ञ डा. दिनेश भुजुका अनुसार चुरे नेपालमा खण्डित नभएको पर्वत माला हो। चुरेले नेपालको समथर तराई र पहाडलाई जोडेको छ।
वनस्पति साइकस, रुख उन्यू, रामाकेतिक लगायत अन्य थुप्रै जन्तुजनावर मानवप्रजातिका अवशेष चुरेमै पाइन्छन्। भावर क्षेत्रमा ग्रावेल प्रकारको माटो भएकोले पानी छिरेर तल पुग्छ। पानीको बचावको लागी पनि पहिरो, भु–क्षय र बनजँगल फँडानिलाई चुरेमा नै रोक्नु जरुरी छ। भाबरमा हुने पानीको समस्या समाधानको लागी तल्लो तराईमा प्रतिकुल असर नपर्ने गरी भावरमा पानी सिल गरी चुरे तिरका ताल तलातलैयाहरुको सरक्षण गर्न सके पानी संकटबाट बच्न सकिने उनको भनाइ छ। चुरेको प्राकृतिक बनोट पानी नअड्किने हो। चुरेलाई प्राकृतिक अवस्थामा छाडिदिने, मानवबस्ती नराख्ने हो भने चुरे संरक्षण गर्नुपर्दैन आफै संरक्षण भइहाल्छ। चुरेमा गेग्रान, बलौटे बालुवाबाट बनेकोले पानी थामिदैन, त्यही पानी चुहिएर भूमिभित्र जान्छ, त्यही पानी तराईलाई उपलब्ध हुने भुजुले बताए।