सुदूरपश्चिमका तीन जिल्लामा यसरी मनाइँदैछ सांस्कृतिक पर्व ‘भूवा’
धनगढीः महाभारत युद्धमा पाण्डव पक्षको विजय हासिल गरेको सम्झनामा सुदूरपश्चिममा भुवा खेल्न सुरू गरिएको छ।
भुवा नाच पाण्डवहरूको विजयोत्सवका रुपमा मनाइने गरिएको छ। सुदूरपश्चिमका पहाडी तीन जिल्ला बाजुरा, बझाङ र अछाममा मनाइने साँस्कृतिक पर्व ‘भुवा’ हरेक वर्ष पौष महिनाबाट सुरु हुन्छ। धनगढीमा बाजुरेली सेवा समाजले तीन दिनसम्म भुवा पर्व मनाउने भएको छ। भुवाको विभिन्न अर्थ लागे पनि भुवा पर्वको हकमा भुवाको अर्थ खरानी भन्ने हुन्छ।
महाभारतको कथा पाण्डव र कौरवको युद्ध गाथामा आधारित भुवा पर्वलाई स्थानीयले ‘भस्सो’ पनि भन्ने गरेका छन्। पाण्डव र कौरवबिचको युद्धदेखि यो पर्व आरम्भ भएको जनविश्वास रहँदै आएको छ। सोही लडाइँको सम्झनामा तथा पाण्डवहरूको जितको खुसियालीमा यो पर्व मनाउन थालिएको बाजुरेली सेवा समाजका अध्यक्ष बजिर धामीले बताए। ‘यो पर्व कौरव–पाण्डवको युद्धमा पाण्डवको विजय भएको सम्झनामा मनाइने गरिन्छ।
असत्यमाथि सत्यको जित भएको सम्झनामा पू्र्खाहरूले भुवा खेल्न थालेको जनविश्वास छ’, उनले भने, ‘पञ्चेबाजाको तालसँगै एक हातमा तरबार र अर्को हातमा ढाल लिएर नाचिने भुवा नाचमा सुदूरपश्चिमका गाउँबेसीहरूमा युद्धकालीन कौशलताको झल्को दिने झाँकी प्रदर्शन हुन्छन्।’ भुवाको पहिलो दिन राँके जुलुस निकालेर सबै जना एकै ठाउँमा जम्मा भएर रातभर गीत, मागल (मङ्गल कार्यमा गाइने गीत) गाउने प्रचलन छ।
बाजाका साथ खेलिने भुवा नाचमा पुरुषहरु हातमा तरवार र खुकुरी लिएर युद्ध कलाको प्रर्दशन गर्दै आपसमा आत्मीयता, भाइचारा र सद्भाव बाँढ्ने गर्दछन्। महाभारतको कथामा आधारित भुवा पर्वलाई स्थानीयले ‘भस्सो’ भन्ने गर्छन्। मौलिक लय र भाकामा खेलिने भुवाको आफ्नै महत्व छ। भुवामा गाइने मागल गीत मार्फत आशीर्वाद दिइने सुर्मादेवी संस्कृति समाज धनगढीकी अध्यक्ष फूलदेवी बोहराले बताइन्।
उनले गाउँघरमा भुवामा मागल गाइने भए पनि बसाइँसराइ गरेर तराई झरेकाहरूले सबै गीत थाहा पाउन नसकेको बताइन्। भुवा पर्व बाजुरा, बझाङ र अछाम जिल्लाको प्रमुख चाड हो। भुवा पर्व डोटीसहित कर्णाली प्रदेशका जिल्लाहरूमा पनि मनाइने गरिन्छ। पुसे चतुर्दशीको राति भुवाखाडोमा आगो बालेपछि यो पर्व सुरु हुन्छ। स्नान गरी बालिएको आगो तापेर घरमा मीठो–मसिनो खाना बनाएर खाइन्छ।
औंसीको दिन लत्ताकपडा धुने र आफ्ना ढाल तरबारलाई चम्किलो बनाउने काम गरिन्छ। ढाललाई कालो रङ्गले पोतिन्छ। तरबारलाई धारिलो र चम्किलो बनाइन्छ। प्रतिपदा र द्वितीया तिथिको दिनमा भुवा नाच पर्दशन गरिन्छ। भुवा खेलको पहिरन पनि विशेष प्रकारको हुन्छ। भुवा खेल्ने पुरुषहरूले सेतो भोटोसहित जामा, पछाडि कुमदेखि खुट्टासम्म पुग्ने गरी पिठ्युँमा एउटा सेतो च्यादरजस्तो पहिरनुपर्छ।
टाउकोमा सेतो पगरी बाँधिन्छ। दिउँसोको समयमा भुवाखाडोमा गएपछि त्यसको रौनक सुरु हुन्छ। बायाँ हातमा ढाल, दायाँ हातमा तरबार लिई बाजाको तालसँगै गुरुको निर्देशन अनुसार सुस्त गतिबाट भुवा खेल्ने गरिन्छ। खेलमा २० वटाभन्दा बढी चाल वा लय र ६३ कवच हुन्छन्। यो पर्वमा छरछिमेकहरूले आ–आफनो घरमा मिठामिठा परिकारहरू पकाउँछन् र आपसमा बाँडेर खान्छन्। यस पर्वले वर्षदिनसम्म भेटघाट नै नभएका इष्टमित्र, दाजुभाइबीचको सम्बन्ध प्रगाढ बनाउने जनविश्वास रहेको बाजुरेली सेवा समाजका अध्यक्ष धामीले बताए। उनले भुवा पर्वमा हातमा तरबार र ढाल लिई सामूहिक रूपमा बाजागाजासहित घरघरमा पुगेर भोस्सो समेत खेलिने बताए।
‘भस्सो मार्फत समाजका विकृति विसंगति उपर व्यङ्ग्य गरिन्छ। भुवा पर्वको मागल अर्थात् मङ्गल गीत मार्फत आशीर्वाद दिने गरिन्छ’, धामीले भने। भुवा पर्व मार्फत प्राचीन युद्ध कलालाई राजा रजौटाहरूले जीवन्त राख्ने प्रयास गरेको रुपमा समेत बुझिन्छ। राजा रजौटाहरूले आफ्ना भाइ भारदार लगायत प्रजाहरूलाई आत्मरक्षाका लागि खेतीपातीको काम सकिएपछि फुर्सदको समयमा ढाल तरबारसँग खेल्न सिकाएको र त्यही परम्परा भुवा पर्वका रुपमा मनाउन थालिएको जनविश्वास छ।