सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा चिरा परेको हुलाकी राजमार्ग टालटुल पारेर हस्तान्तरणको तयारी

२०८१ पुष १८, १०:१४ कमल सावद

धनगढी : कैलालीमा हुलाकी राजमार्ग स्तरवृद्धिका लागि २०७७ सालमा ठेक्का सम्झौता भयो। धनगढी र लम्कीमा चार लेन र बाँकी क्षेत्रमा २ लेनको राजमार्ग निर्माणको काम अझै जारी छ।

धनगढी क्षेत्रको तीन किलोमिटर चार लेनको काम सकिएको छ। तर, चार लेनको सडक कालोपत्रको एक वर्ष नहुँदै चिरा पर्ने र भत्किन थालेको छ। हुलाकी राजमार्ग निर्देशनालयलाई निर्माण कम्पनीले सडक हस्तान्तरण नगर्दै भत्किन थालेको हो। धनगढीको क्याम्पस चोक, बुद्धचोक, मनहेरा, कालिका मन्दिर र जङ्गल क्षेत्रको सडक उप्किएको हो। सडकको ठाउँ–ठाउँमा चिरा परेका हुन। कालोपत्र गरिएको एक वर्ष नपुग्दै कैलालीमा हुलाकी राजमार्ग भत्किन थालेको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–८ क्याम्पस चोकदेखि पूर्वी कैलालीमा कालोपत्र गरिएको राजमार्ग भत्किन थालेको हो। हुलाकी राजमार्ग, योजना कार्यालय, धनगढीका प्रमुख मुकुन्द लामिछानेले चिरा परेको र भत्किएको सडक क्षेत्रको स्थलगत अनुगमन गर्ने बताए। उनले भने, ‘मैले हेर्न पाएको छैन। स्थलगत अनुगमन गरेपछि के भएको रहेछ, भन्छु।’

हुलाकी सडक निर्देशनालय।ले धनगढीमा तीन किलोमिटरसहित ७३ किलोमिटर राजमार्ग स्तरवृद्धिको काम गर्दैछ। तर, धनगढी क्षेत्रमा कालोपत्र गरिएको एक वर्ष पूरा नहुँदै ठाउँ–ठाउँमा सडक उप्किएको छ। सडक उप्किएको ठाउँमा टालो लगायर हस्तान्तरणको तयारी गरिएको छ। हुलाकी राजमार्ग, योजना कार्यालय, धनगढीका प्रमुख मुकुन्द लामिछानेले हस्तान्तरणको काम बाँकी रहेको बताए। उनले भने, ‘कालोपत्र सडक हस्तान्तरण गरिएको छैन।’

हुलाकी राजमार्गको धनगढीमा तीन किलोमिटरलाई ४ लेनमा स्तरवृद्धि गरिएको छ। धनगढीको क्याम्पस चौकदेखि मनहेरा (कालिका मन्दिर) सम्मको तीन किलोमिटर ४ लेन र बाँकी ४१ किलोमिटर हुलाकी सडक २ लेनमा स्तरवृद्धिको काम हुँदैछ। धनगढीदेखि फूलबारी क्षेत्रको राजमार्ग कालोपत्र गरिएको छ। तर, सडक स्तरीय निर्माण गरिएको छैन। हुलाकी राजमार्गको गुणस्तर परीक्षण गरिएको छ। कालोपत्रको मोटाइको परीक्षण गरिएको हो। तर, योजना कार्यालयले उक्त परीक्षणको अवस्था सार्वजनिक गरेको छैन। उल्टै, चिरा परेको राजमार्ग क्षेत्रमा टालो लगाउने काम भएको छ।

हुलाकी राजमार्गको धनगढीदेखि सत्तीसम्म ४४ किलोमिटर र लम्की–टीकापुर लिङ्क सडक २९.७ किलोमिटर स्तरवृद्धि गरिएको हो। लम्की–टीकापुर सडक खण्डमा साढे १० किलोमिटर र धनगढीमा तीक किलोमिटर ४ लेनको सडक निर्माण गरिएको हो। भारत सरकारले साँघुरो र न्यून गुणस्तरको निर्माण गरेको हुलाकी राजमार्ग फेरि कमसल कालोपत्र गरिएको छ। हुलाकी राजमार्ग योजना कार्यालय, धनगढीले स्थलगत निरीक्षणसमेत गर्दै आएको छ। तर, टालटुल गरेको सडक हस्तान्तरणको तयारी छ।

धनगढीदेखि कटैनीसम्मको ३१ किलोमिटर र कान्द्रा नदीदेखि सत्तीसम्मको १३ किलोमिटर सडक गरी ४४ किलोमिटर स्वच्छनन्द–जोशी जेभी र लम्कीमा ८ किलोमिटर कालिका–कुमार जेभी, १८ किलोमिटर एपेक्स–खड्का–कृष्ण जेभी र ७ सय ४१ मिटर राईमाझी–जलवा–जगदम्बा जेभीले सडक निर्माणको ठेक्का पाएको थियो। १२ मिटर सडकमा ७ मिटर चौडाई कलोपत्रे, चार लेनमा बीचमा २ मिटरको मिडिएम र ७÷७ मिटरको कालोपत्रे छ। साढे २ मिटरको फुटपात समेत निर्माण हुने छ।

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस