चैतन्य पाठशालाले विद्यार्थी महोत्सव गर्ने
धनगढीः चैतन्य पाठशालाले विद्यार्थी महोत्सव गर्ने भएको छ। धनगढी उपमहानगरपालिका–५ शिवनगरमा रहेको पाठशालाले पौष २७ देखि माघ ५ गतेसम्म महोत्सव गर्ने भएको हो।
सोमवार पत्रकार सम्मेलन गर्दै विद्यालयका अध्यक्ष गणेशप्रसाद जोशीले यो वर्ष विद्यार्थी महोत्सव गर्ने बताएका हुन्। उनले चैतन्य पाठशालाले फरक शैक्षिक धारणा र अभ्यास अघि बढाइरहेको बताएका छन्। आजको विश्व समाजको आवश्यकताअनुसारको जनशक्ति उत्पादन गर्न विद्यालयले विज्ञान, प्रविधि र संस्कृतिलाई आत्मसात गर्दै शैक्षिक क्रियाकलाप गरिरहेको बताएका छन्।
‘चैतन्यले विगत वर्षदेखि नै आयोजना गर्दै आइरहेको स्टिम फेयर, वार्षिक खेलकुद सप्ताह र यो वर्षदेखि विन्टर क्याम्प, रमाइलो मेलालाई जोडेर संयुक्त रूपमा आगामी पुस २७ देखि माघ ५ गते सम्म चैतन्य विद्यार्थी महोत्सव–२०८१ को आयोजना गर्ने भएको छ’, उनले भने, ‘महोत्सवमा चैतन्य पाठशालासहित अन्य विद्यालयका विद्यार्थी र अभिभावकको पनि सहभागिता रहने छ।’
महोत्सवमा विज्ञान प्रविधिको अन्वेशषण र प्रयोगात्मक परियोजनाको प्रयोग गरिने अध्यक्ष जोशीले बताएका छन्। यस्तै, महोत्सवमा कला, साहित्य, संस्कृति, रहनसहन, खानपान र मौलिकताको पहिचान र प्रदर्शनी समेत गरिने जोशीले बताए। शैक्षिक महोत्सवमा व्यक्तित्व विकासका बृहत् आयामहरुको क्षमताका लागि प्रतिस्पर्धा गरिने बताइएको छ। महोत्सवमा रमाइलो खेल र सिकाइ, सिर्जना, सिलता र नवीन अभ्यासको समेत प्रयोग हुने अध्यक्ष जोशीले बताए।
९ दिनसम्म चल्ने महोत्सवमा विभिन्न महत्वपूर्ण खेलहरूको प्रतिस्पर्धा र आयोजना गरिने भएको छ। महोत्सवमा आट्र्स एक्जिविशन, सिकाइ, नृत्य, संगीत र गायन प्रतिस्पर्धा समेत हुने भएको छ। महोत्सवमा चैतन्य गायन, चैतन्य नृत्य, चैतन्य ट्यालेन्ट हन्ट प्रतियोगिता गरिने अध्यक्ष जोशीले बताए।
‘महोत्सवमा अभिभावकबिच रमाइलो खेल र प्रतिस्पर्धात्मक खेल, रक्तदान, साइकल र्याली, कलश यात्रा, समाज सेवा समेत गरिनेछ’, उनले भने, ‘पाठ्यपुस्तक र पाठ्यक्रमभन्दा पर गएर विद्यार्थीहरूको अन्तरनिहित क्षमताको पहिचान र प्रस्फुटनको लागि अवसरको सिर्जना गर्न महोत्सव आयोजना गर्न लागिएको हो।’ महोत्सव आयोजनाको लागि काठमाडौंको रातो बङ्गला र अन्य प्रतिष्ठित विद्यालयहरुसँगको समन्वय र सहयोग रहेको अध्यक्ष जोशीले बताए। प्रतिभाशाली युवा वैज्ञानिक, प्रेरक व्यक्तित्वहरूको उपस्थिति रहने पाठशालाका अध्यक्ष जोशीले बताए।