सुदूर नेपाललाई विश्वसँग जोड्दै

अब धनगढीका प्रत्येक वडामा पनि ‘हाइमास्ट’ लाइट

२०८० मंसिर ३०, १०:५२ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगर धनगढीमा ‘उज्यालो धनगढी’ अभियान जारी छ।

मुख्य बजार क्षेत्रमा ‘स्मार्ट स्ट्रिट’देखि हाइमास्ट लाइट जडान गरेर उज्यालो धनगढी अभियानको सुरुवात गरेको उपमहानगरले अब प्रत्येक वडामा पनि हाइमास्ट लाइट जडान गर्ने भएको हो। उपमहानगरपालिकाले प्रत्येक वडामा एउटा आर्थिक केन्द्र बनाउने गरी सुरुमा हाइमास्ट लाइट जडान गर्नेछ। उपमहानगरभित्र कुल १९ वडाहरु छन्।

प्रत्येक वडामा एउटा/एउटा हाइमास्ट लाइट लगाएर वडालाई नै आर्थिक केन्द्रको रुपमा विकास गर्ने योजना उपमहानगरपालिकाले बनाएको छ। यसका लागि केहि समयभित्रै प्रत्येक वडामा हाइमास्ट लाइट जडान गरिने उपमहानगरपालिका कार्यालयले जनाएको छ। उज्यालो धनगढी अभियानलाई निरन्तर रुपमा अघि बढाउने योजना अनुसार वडाहरुमा हाइमास्ट लाइट लगाएर वडाभित्र हुने व्यापार–व्यवसायलाई थप चलायमान बनाउने प्रयासको थालनी गरिने छ।

सुरुमा १९ वडाभित्र १९ वटा हाइमास्ट लाइट लगाइने छ। यसबाट ग्रामीण क्षेत्रमा रातिको समयमा हुने चोरी, डकैती, असुरक्षा जस्ता क्रियाकलापमा कमि आउने अपेक्षा उपमहानगरले गरेको छ। धनगढीको फूलबारी क्षेत्रमा भने यसअघि नै तीनवटा हाइमास्ट लाइट जडान गरिसकिएको छ। धनगढी उपमहानगरपालिकाले ६ लाख ५० हजारका दरले तीनवटा हाइमास्ट लाइट जडान गरेको हो।

वडा नम्बर १४, १८ र १९ मा हाइमास्ट लाइट जडान गरिएको छ। स्याउले बजार, डिपो बजार र पच्चिस घरमा हाइमास्ट लाइट जडान गरेर सञ्चालनमा आइसकेको छ। मोहनापुल–अत्तरिया ६ लेन सडक अन्तर्गत धनगढी क्षेत्रभित्र प्रत्येक चोकहरुमा हाइमास्ट लाइट यसअघि नै जडान गरिसकिएको छ।

बजार क्षेत्रमा १४ वटा हाइमास्ट लाइट लगाएको उपमहानगरले अब प्रत्येक वडामा पनि एउटा/एउटा हाइमास्ट लाइट लगाउने तयारीमा छ। हरियाली धनगढीसँगै उज्यालो धनगढीलाई पनि उपहानगरले सँगसँगै अघि बढाएको हो। ‘हाम्रो धनगढी हामी बनाउँछौँ’ अभियान कार्यकालभरी नै जारी रहने निर्वाचित जनप्रतिनिधिहरुले बताएका छन्।

कमेन्ट लोड गर्नुस