सुदूर नेपाललाई विश्वसँग जोड्दै

पश्चिम सेतीको चार सय केभी प्रसारण लाइन निर्माण हुने

२०८० मंसिर २१, ०२:१५ खबर संवाददाता

 

धनगढी ः पश्चिम सेतीको चार सय केभी प्रसारण लाइन विस्तार गरिने भएको छ। बझाङ–वनलेक–दोदोधरा विद्युत प्रसारण लाइन छिट्टै निर्माणका लागि सम्बन्धित निकायलाई निर्देशन दिने सङ्घीय सरकारले दाबी गरेको हो।

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतसँग गरेको छलफलको क्रममा मन्त्री बस्नेतले विद्युत् लाइन निर्माणको प्रतिबद्धता जनाएका हुन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले यो लाइनको अध्ययन गरिरहेको छ। सुदूरपश्चिम प्रदेशको विकासको लागि आवश्यक यो प्रसारण लाइन भारतीय इक्जिम बैङ्कको ऋण सहयोगमा बन्नेछ।

बुढीगंगा जलविद्युत् आयोजनाका लागि निर्माण गर्नुपर्ने बूढीगंगा पहलमानपुर १३२ केभी प्रसारण लाइनको निर्माण अगाडि बढाउनका लागि पनि ऊर्जा मन्त्रालय र विद्युत् विकास विभागलाई निर्देशन दिने छलफलमा सहमति भएको छ। विद्युत विकास विभागले बनाइरहेको यो लाइन पश्चिम सेती तथा सेती नदी–६ जलविद्युत् आयोजनाको लागि आवश्यक छ।

अन्तर्देशीय चार सय केभी लम्की–बरेली प्रसारण लाइनको निर्माण छिटो अगाडि बढाउन पनि सहमति भएको मुख्यमन्त्री शाहले बताए। यसैगरी, बेतान कर्णाली जलविद्युत् परियोजनालाई समयमा निर्माण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण सहित छलफल गरेर अगाडि बढाउने सहमति पनि गरिएको छ। यी कार्यका लागि मन्त्री बस्नेत सकारात्मक रहेको मुख्यमन्त्री शाहले बताए।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह र आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बस्नेतलाई भेट गरेका हुन्।

 

कमेन्ट लोड गर्नुस