सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतीय विदेशमन्त्री एस पुस तेस्रो साता नेपाल आउने

२०८० मंसिर २०, ०९:०४ खबर संवाददाता

काठमाडौंः नेपाल–भारत विदेशमन्त्रीस्तरीय संयन्त्रको सातौं बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस जयशंकर पुस तेस्रो साता नेपाल आउने भएका छन्। भ्रमणका क्रममा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुने सरकारी अधिकारीहरु बताउँछन्।

उच्च कूटनीतिक स्रोतका अनुसार १९ पुसमा जयशंकर नेपाल आउने र २० पुसमा भारत फिर्ता हुने गरी दुवै देशका परराष्ट्र मन्त्रालयले तयारी गरिरहेका छन्। ‘यही अक्टोबरमा संयन्त्रको बैठक बस्ने तयारी थियो। दुवै देशका परराष्ट्रमन्त्रीको व्यस्तताका कारण बैठक बस्न सकेन्। ‘आउँदो जनवरीको पहिलो हप्तामा दुवै मन्त्रीको समय मिल्ने भएपछि समय प्रस्ताव भएर करिब टुंगिएको छ।’

अक्टोबरमा संयन्त्रको बैठक बस्ने तयारी चलेपनि विदेशमन्त्रीहरुको व्यवस्ताका कारण सम्भव नभएको अधिकारीहरु बताउँछन्। सोमवार पत्रकारहरुसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय विदेशमन्त्री जयशंकरको अर्को महिना नेपाल भ्रमण हुने बताएका थिए। ‘भ्रमणको तयारी पूरा भइसकेको छ, शायद अर्को महिना उहाँ आउनुहुन्छ । मिति तपाईंहरूले थाहा पाइहाल्नुहुन्छ’, उनले भनेका थिए।

यद्यपि अहिलेसम्म संयन्त्रको बैठक र जयशंकरको नेपाल भ्रमणको मिति सार्वजनिक गरिएको छैन। नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा विस्तृत छलफल हुने परराष्ट्रमन्त्रीस्तरीय संयुक्त संयन्त्र ३२ वर्षदेखि कायम छ। 
 

कमेन्ट लोड गर्नुस