सुदूर नेपाललाई विश्वसँग जोड्दै

आमा......

२०७६ वैशाख २१, ०७:४१

कैलै घाम, हुरी, बतास, असिना, कैलै सह्यौ हुन्डरी ।
तीर्खा भोक सह्यौ थकान कहिल्यै, पीडा सह्यौ बेसरी ।।
देख्यौ, उज्ज्वलका भविष्य सपना, सन्तान वा बालक ।
तिम्रो त्यो ममता लतारि म हिँडें, आमा नमान्नु छक !!

आमा बा असहायका बखतमा, राखेर बृद्धाश्रम ।
आमा हौ भगवानझैं रुप भनी, छर्दै छु छोरो भ्रम ।।
धर्ती हौ, जननी खुला गगन हौ, आदर्श छाटूँ जति ।
छोरा लायक बन्न मुस्किल भएँ, आमा म ढाँटूँ कति ।।

आमा आँसु बगाउँछिन् नयनमा, यी दन्त हाँस्छन् यहाँ ।
आमा भाव विहीनका हृदयमा, सन्तान बाँच्छन् यहाँ ।।
आमाको मुख हेर्न साइत जहाँ, पर्खेर जो बस्दछ ।
आमाको उपहास हुन्छ यसले, सम्मानता मर्दछ ।।

कमेन्ट लोड गर्नुस