सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका सडक गुरुयोजना विपरित चौडाइ घटाएर निर्माण हुने

२०७६ वैशाख २१, ०७:३२ नवराज पनेरु

 

धनगढी उप–महानगरमा क्षेत्रीय सहरी विकास आयोजना अन्तरगतका सबै सडकहरु नगर यातायात गुरुयोजना विपरित निर्माण हुने भएका छन्। एसियाली विकास बैंकको ऋण सहयोगमा लागु भएको क्षेत्रीय सहरी विकास आयोजना अन्तरगत निर्माण हुने ७ वटा सडक नै नगर यातायात गुरुयोजना विपरित निर्माण हुने देखिएको हो। २० बर्षका लागि तयार पारिएको नगर यातायात गुरुयोजनामा निर्धारण गरिएको चौडाई अनुसार एउटा पनि सडक निर्माण नहुने भएपछि कम चौडाईका सडकले सवारी चाप थेग्न सक्नेमा आशंका व्यक्त गरिएको छ। धनगढी उप–महानगरपालिकाका ईन्जिनियर कमल ओझाका अनुसार २०७५ सालको जेठमा नगरपालिका स्थापना भएको झण्डै चार दशकपछि धनगढी उप–महानगरपालिकामा नगर यातायात गुरुयोजना बनेको थियो। २०३३ सालमा स्थापना भएको धनगढी नगरपालिका २०७२ सालमा उप–महानगरपालिका भएपनि नगर यातायात गुरुयोजना भने गत बर्ष मात्रै तयार भएको उनले बताए। तर झण्डै डेढ अर्वको लगानीमा क्षेत्रीय सहरी विकास आयोजना अन्तरगतका ७ सडक निर्माण गर्दा भने सोही नगर यातायात गुरुयोजना मिचिएको छ। क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन गरिरहेको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन ईकाइका सुचना अधिकारी श्यामचन्द्र बुढाथोकीले पनि पहिले निर्धारित सडकको सबै क्षेत्रमा संरचना निर्माण नहुने बताए। 

धनगढी उप–महानगर क्षेत्रका सडकहरुको न्युनतम ६ मिटरदेखि अधिकतम ३० मिटर सम्मका चौडाई निर्धारण गरिएको थियो। मुख्य बजारको ट्राफीक चौराह–क्याम्पस चौक सडकलाई पहिलो प्राथमिकतामा राखिएको थियो जस्को चौडाई ३० मिटर निर्धारण गरिएको थियो भने दुवैतर्फ ६–६ मिटर सेट व्याक अर्थात नालीपछिको सिमाना खाली राख्नु पर्ने मापदण्ड बनाईएको थियो। मुख्य बजारको सडकको चौडाई यसअघि नै राजपत्रमा ३० मिटरको थियो तर अव क्षेत्रीय सहरी विकास आयोजना अन्तरगत निर्माण हुँदा २४ मिटर चौडा मात्रै सडक निर्माण हुने छ। सडक ट्राफिक चौराहदेखि कैलालीपुल सम्म मात्रै निर्माण हुने छ। नगर यातायात गुरुयोजनामा दोश्रो नम्वरको सडक सहिद गेट–क्याम्पसरोड सडकलाई राखिएको थियो जस्को चौडाई २२ मिटर र दुवै तर्फ ३–३ मिटरको सेट ब्याक राखिएकोमा क्षेत्रीय सहरी विकास आयोजना अन्तरगत सडक निर्माण हुँद १६ मिटर मात्रै चौडा हुने छ। यस्तै गुरुयोजनामा तेश्रो प्राथमिकतामा राखिएको सडक भन्साररोड हुदै बैडावेहडी, सन्तोषीटोल भएर एलएनचौक निस्कीने सडक हो। जस्को चौडाई १४ मिटरको निर्धारण गरिएकोमा २–२ मिटरको सेट व्याक पनि राखिएको छ। तर अव उक्त सडक १० मिटर चौडा मात्रै निर्माण हुने छ। अन्य सवै सडकको चौडाई ६ मिटर भन्दा माथि र १४ मिटर भन्दा कम रहेकोमा अव निर्माण हुँदा भने नगर यातायात गुरुयोजनाको मापदण्डलाई टेकिएको छैन्। धनगढी उप–महानगरपालिकाका योजना शाखा प्रमुख द्धिजराज भट्टले भने मापदण्ड र सडक निर्माण हुने क्षेत्र फरक–फरक विषय भएको बताए। उनले पुर्वपश्चिम राजमार्गदेखि हुलाकी सडकमा पनि क्षेत्राधिकार अनुसार सडक चौडा नभएको दावी गर्दै धनगढीमा पनि त्यस्तै भएको बताए। 

तर क्षेत्रीय सहरी विकास आयोजना अन्तरगत सडक क्षेत्र खाली गरेर दिने जिम्मेवारी उप–महानगरपालिकाको भएकाले उप–महानगरपालिका जिम्मेवारीबाट पन्छिदा भविष्यमा ठुलो समस्या आउने आशंका गरिएको छ। विगतमा उप–महानगरपालिकाले अन्धाधुन्द रुपमा नक्सा पास गर्दा नै सडक क्षेत्रमा विभिन्न संरचना निर्माण भएका छन् र अहिले ति संरचना खाली गर्न उप–महानगरपालिका आफै पछि हटेको छ। तिव्र रुपमा जनघनत्व बढिरहेको र सोही क्रममा सवारी साधन पनि बढ्दै गएकाले कम चौडाईका सडकले सवारी चाप थेग्न सक्नेमा आशंका गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरिक्षक अनिल उप्रेतीले पनि अहिले धनगढीका सडक नै अस्तव्यस्त भएका चौडा बनाउन आवश्यक रहेको बताए। नगर यातायात गुरुयोजना बनाउँदा दिर्घकालीन सोचका साथ सडकहरुको चौडाई निर्धारण गरिएको थियो र २० बर्षका लागि उचित हुने पनि विश्वास गरिएको थियो। तर अहिले क्षेत्रीय सहरी विकास आयोजना अन्तरगत झण्डै सवा १० किलोमिटरका ७ वटा सडक निर्माण गर्दा भने गुरुयोजनामा उल्लेख गरिएको चौडाईको वेवास्ता गरिएको छ।

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस