आजिएटा एनसेलबाट बाहिरिँदै
काठमाडौँः प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मार्फत सञ्चालित दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलबाट मलेसियन कम्पनी आजिएटा समूह बाहिरिने भएको छ।
एनसेलमा कुल ८० प्रतिशत सेयर स्वामित्व रहेको आजिएटा समूह बर्हादले बुधबार विज्ञप्तिमार्फत नेपालको व्यावसायिक परिदृश्य चुनौतीपूर्ण रहेकाले बाहिरिने निर्णय गरेको जनाएको छ।
‘नेपालको परिदृश्य बढ्दो रूपमा चुनौतीपूर्ण भएकाले त्यहाँबाट बाहिरिने बोर्ड बैठकको निर्णय छ,’ आजिएटा समूहका प्रमुख कार्यकारी अधिकृत एवं प्रबन्ध निर्देशक विवेक सुदको भनाइ छ, ‘त्यसअनुरूप बोर्डले एनसेललाई बिक्रीका लागि राखिएको सम्पत्तिका रूपमा वर्गीकरण गर्ने निर्णय गरेको छ। हामीलाई विश्वास छ, आजिएटालाई आफ्नो रणनीतिक प्राथमिकताहरू पूरा गर्न यो कदमले थप सबलीकरण गर्नेछ र यो निर्णय हाम्रा सम्पूर्ण सेयरहोल्डरहरूको दीर्घकालीन हितमा छ।’