सुदूर नेपाललाई विश्वसँग जोड्दै

रुसी सेनामा रहेका तीन नेपालीको मृत्यु

२०८० मंसिर १३, ०४:२० खबर संवाददाता

एजेन्सीः रुसी सेनामा कार्यरत तीन नेपालीको मृत्यु भएको छ। कार्तिक २९ (तिहारको दिन)मा मृत्यु भएकोमा दुई सातापछि मात्र घटना सार्वजनिक भएको हो। मृत्यु भएको दुई सातापछि रुसी सेनाको हवाला दिँदै मस्कोस्थित नेपाली राजदूतावासले परराष्ट्र मन्त्रालयमार्फत परिवारजनलाई जानकारी दिएको छ।

दूतावासले परराष्ट्र मन्त्रालयको कन्सुलर विभागलाई भने ८ मंसिरमै चिठी पठाएर जानकारी गराएको थियो। दूतावासका द्वितीय सचिव सुशील घिमिरेले विभागमा पठाएको विवरणमा स्याङ्जाको पुतलीबजार नगरपालिका– ५ ठूलास्वाँराका पीतम कार्की, दोलखाको मेलुङ गाउँपालिका– ६ सुनारपानीटोलका राजकुमार रोका र इलामको इलाम नगरपालिका– ५ का गंगाराज मोक्तानतको मृत्यु भएको उल्लेख छ।

कार्की विगतमा नेपाली सेनामा र रोका सशस्त्र प्रहरीमा कार्यरत रहेको परिवारजनले परराष्ट्र मन्त्रालयमा जानकारी दिएका छन्। नेपाली दूतावासले उनीहरूको मृत्यु कुन अवस्थामा भएको भन्ने खुलाएको छैन। रुसी सेनाले टेलिग्राममार्फत तीनजना नेपालीको मेडिकल डेथ सर्टिफिकेट उपलब्ध गराएको दूतावासको चिठीमा उल्लेख छ।
 

कमेन्ट लोड गर्नुस