सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा बढ्दो योगसाधना, ६० योग केन्द्रबाट नियमित योगाभ्यास

२०८० मंसिर १०, ०६:०६ नारायण अवस्थी

धनगढीः कैलालीमा नियमित योगाभ्यास गर्नेको संख्या देशभरमै उच्च रहेको छ। जिल्लाका १३ स्थानीय तहमा खुलेका ६० वटा योग केन्द्रमा नियमित योग साधना हुने गरेको छ।

कैलालीमा धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकामा सबैभन्दा बढी योग केन्द्र र योग प्रशिक्षक रहेका छन्। पतञ्जलि योग समिति कैलाली र धनगढी नगर समितिले योग केन्द्र स्थापना र शिविर सञ्चालनमा तिव्रता दिएको छ। कैलालीमा विद्यालय, कलेज र गाउँ–टोलमा योग शिविर आयोजना हुने दर यो वर्षबाट बढेको छ। पतञ्जलि योग समिति धनगढीका प्रभारी धर्मराज कोइरालाले बताए।

‘पहिले पनि कैलालीमा योग निकै फैलिएको थियो, बिचमा सुस्ताए पनि यो वर्षबाट योग गर्नेको संख्या फेरि बढेको छ। कैलालीमा एक हजार योग शिक्षकले नियमित योग साधना गराउन थालेका छन्’, कोइरालाले भने। कैलाली जिल्लामा पतञ्जलि योग समितिले हालसम्म १ हजार जनालाई सह–योग शिक्षक तालिम दिएको छ।

एक हजार जनालाई ३६ दिने तालिम दिएर योग प्रशिक्षण गर्न योग्य बनाएको पतञ्जलि योग समितिले यो वर्षको साउन यता मात्रै धनगढीमा १८० र गोदावरीमा एक सय जनालाई सह–योग शिक्षकको तालिम दिएको पतञ्जलि योग समिति धनगढीका प्रभारी धर्मराज कोइरालाले जानकारी दिए। ‘कैलाली जिल्लाभर पतञ्जलि योग समितिका ६० वटा योग केन्द्रमा नियमित योगाभ्यास हुने गरेको छ।

धनगढीम साउनयता मात्रै वडा नम्बर ८, ११, १३, १७ र १८ मा सात दिने योग शिविर सम्पन्न भएको छ। धनगढीमा जिल्लामै सबैभन्दा बढी २५ वटा योग केन्द्र खुलेका छन्’, कोइरालाले भने। योग केन्द्रहरूमा हरेक दिन बिहान साढे ४ देखि साढे ६ बजेसम्म योगाभ्यास हुने गरेको छ। धनगढी–१ चकमली बजारमा रहेको साहित्य समाज योग केन्द्रमा भने बेलुकी ४ बजेदेखि पनि योग हुने गरेको पतञ्जलि योग समिति सुदूरपश्चिम प्रदेशका सल्लाहकार गौरीप्रसाद नाथले बताए।

‘साहित्य समाजमा रहेकोे योग केन्द्रमा बिहान ४ः३० देखि ६ः३० र बेलुकी ४ बजेबाट योग हुने गरेको छ। बेलुका व्यक्तिको समस्याको आधारमा योगाभ्यास गर्न लगाइने व्यवस्था मिलाइएको छ’, नाथले बताए। पतञ्जलि योग समिति नेपालका मुख्य प्रभारी योग गुरु लवदेव मिश्रको नेतृत्वमा नेपालमा कैलालीबाट नै योगाभ्यास गर्न थालिएको हो। अहिले पनि ७७ जिल्ला मध्ये योग प्रशिक्षकहरूको संख्या कैलालीमा सबैभन्दा बढी छ।

धनगढीमा भने सरकारी र निजी विद्यालयमा समेत योग सिकाउन थालिएको छ। प्याब्सन अन्तर्गतका विद्यालयका १९ जना शिक्षकहरूले सह–योग शिक्षक तालिम लिएका छन् भने युवा, वयस्क, प्रौढदेखि विभिन्न संघ संस्थामा कार्यरत व्यक्तिले योग गर्न थालेका छन्। बाँचुञ्जेल निरोगी रहन युवादेखि वृद्धवृद्धाले नियमित योग साधना गर्दा शारीरिक र मानसिक स्वास्थ्यमा लाभ हुने पतञ्जलि योग समिती कैलालीका मार्गदर्शक हेमन्त ओझाले बताए। ‘नियमित योग गर्दा बिरामी नहुने, स्वास्थ्य समस्या भए क्रमशः निको हुँदै जान्छ। चित्त शुद्धि र मनको एकाग्रताका लागि नियमित योग साधना गर्दा लाभ हुन्छ’, ओझाले भने।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस