सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको हाटबजारमा नगर प्रहरीलाई दुर्व्यवहार गर्ने विरुद्ध मुद्दा दर्ता

२०८० मंसिर ८, ०२:२६ नारायण अवस्थी

धनगढीः धनगढी उपमहानगरभित्र कार्यरत नगर प्रहरीलाई दुर्व्यवहार गर्ने भारतीय नागरिक विरुद्ध मुद्दा दर्ता गरिएको छ। धनगढी उपमहानगरपालिकाले नगर प्रहरीसँग दुर्व्यवहार गर्ने भारतीय नागरिक साहिल खान र साहरुख खान विरुद्ध जिल्ला प्रहरी कार्यालय, कैलालीमा मुद्दा दर्ता गरेको हो।

गत मङ्गलवार वडा नम्बर १ मा रहेको त्रिनगर कृषि हाटबजारमा उनीहरूले नगर प्रहरीलाई गाली गलौज र दुर्व्यवहार गरेका थिए। उपमहानगरले किसान परिचयपत्र नभएकाहरूलाई हाटबजारमा व्यापार गर्न नदिने नियम बनाएकोमा साहिल र साहरुख खानले जबरजस्ती हाटबजारमा प्रवेश गरेर तरकारी बिक्री गर्न पाउनुपर्ने भन्दै आक्रोशित भएर नगर प्रहरीलाई गालीगलौज गर्दै आफ्नो तरकारी बजारमा छरपस्ट पारेका थिए।

धनगढी उपमहानगरपलिकाले धनगढीका किसानलाई किसान परिचयपत्र वितरण गरेर व्यापार गर्न छुट दिएको छ। साहिल खान र साहरुख खानले वडा नम्बर २ मा जग्गा भाडामा लिएर तरकारी खेती गरेको बताए पनि किसान परिचयपत्र लिन उपमहानगरमा सम्पर्कसम्म नगरेको नगर प्रमुख गोपाल हमालले बताए। एक्कासी गत मङ्गलवार हाटबजारमा आएर हङ्गामा मचाउन खोजेका उनीहरूलाई लगत्तै पक्राउ गरिएको नगर प्रमुख हमालले बताए।

कानुन कार्यान्वयन गराउन खोज्दा अवरोध गर्दै दुर्व्यवहार र गालीगलौज गरेको अभियोगमा पक्राउ परेका दुबै जना विरुद्ध सार्वजनिक अभियोगमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय, कैलालीका सहायक सूचना अधिकारी सन्तोष बस्यालले बताए। बुधवार जिल्ला अदालत कैलालीबाट पाँच दिनको म्याद थप भई हाल अनुसन्धान भइरहेको सहायक सूचना अधिकारी बस्यालले बताए।
के थियो घटना?
त्रिनगर हाटबजारमा बिगतमा बिचौलियाहरूले किसानहरूलाई कृषि उपज बिक्री गर्न समस्या खडा गरेपछि उपमहानगरले किसान परिचयपत्रको अवधारणा लागु गरेको हो। किसानहरूले कम मूल्यमा बिचौलियासँग तरकारी बिक्री गर्नुपर्ने गुनासो गरेपछि उपमहानगरले कृषि हाटबजारमा बिचौलियाको अन्त गर्न धनगढीका किसानहरूलाई परिचयपत्र वितरण गरेको हो। किसान परिचयपत्र लागु भएपछि धनगढीका किसानहरूले हाटबजारबाट आफ्नो उत्पादन उपभोक्तालाई बिक्री गर्न सहज भएको छ।

तर, मङ्गलवार बिहान भने धनगढीको त्रिनगर कृषि हाटबजारमा दुई जना भारतीय नागरिकले हङ्गामा गरेको दृश्य देखियो। उपमहानगरले परिचयपत्र लिएका किसानहरूलाई मात्रै हाट बजारमा तरकारी बिक्री गर्न दिने नीति लिएको भए पनि दुई जना भारतीय नागरिकसँग भने किसान परिचयपत्र थिएन। नियम विपरीत हाट बजारमा बस्न नमिल्ने नगर प्रहरीले बताएपछि आक्रोशित भएर दुबै जनाले आफ्नो तरकारी आफै फालेर छरपस्ट पारेका थिए।

आवेगमा आएर आफ्नो तरकारी आफैले फालेको घटनामा संलग्न साहिल खान र साहरुख खानका काका ख्यारत अहमदले समेत सोही दिन स्वीकार गरेका थिए। उनले हाटबजारमा जुन घटना भयो त्यसमा नगर प्रहरीको हात छैन। भतिजाहरूले आवेगमा आएर आफ्नो तरकारी आफैं फालेका हुन् भन्ने टिप्पणी गरेका थिए। गत बैशाखसम्म धनगढीको त्रिनगर कृषि हाट बजारमा कपडा, जुत्ताचप्पल, भाडा वर्तन र धनगढीभन्दा बाहिर उब्जाएको तरकारी होलसेलमा बिक्री हुन्थ्यो।

धनगढीका किसानहरूले त्रिनगर हाट बजारमा आफ्ना कृषि उपज बिक्री गर्न नपाउने अवस्था थियो। किसानहरूले हाट बजारमा आफ्नो उत्पादन बिक्री गर्न नपाएको गुनासो गरेपछि धनगढी उपमहानगरले किसान परिचयपत्र वितरण गर्ने नीति लिएको हो। उपमहानगरले किसान परिचयपत्र लागु गरेर हाट बजारमा किसान बाहेक अन्य व्यापारीको प्रवेशमा रोक लगाएको थियो।

बिगतमा बजार व्यवस्थापन समितिका नाममा किसानबाट सस्तोमा तरकारी खरिद गर्ने र उपभोक्तालाई दोब्बर मूल्यमा बिक्री गर्ने काम हुँदै आएको थियो। त्यो परिपाटी तोड्न र किसानले श्रमको मूल्य पाउन भनेर हाटबजारमा व्यापार गर्न गैरकृषकहरुको प्रवेशमा रोक लगाइएको नगर प्रमुख गोपाल हमालले बताए। ‘बिगतमा बजार व्यवस्थापन समितिका नाममा किसानबाट सस्तोमा खरिद गर्ने र उपभोक्तासँग दोब्बर मूल्य लिने परिपाटी थियो।

किसानहरूले बिहान हाटबजारमा आएर सस्तोमा बिक्री गरेर जानुपर्थ्यो,’ उनले भने, ‘मेहनत गर्ने लगानी गर्ने किसानले आफ्नो उत्पादनको उचित मूल्य पाओस् र उपभोक्ताले पनि सस्तोमा खरिद गर्न सकून् भने किसान बाहेक अन्यको प्रवेशमा रोक लगाएका हौँ।’ बिगतमा किसानबाट बिहान सस्तोमा खरिद गरेको तरकारी व्यापारीहरूले केही घण्टापछि उपभोक्तासँग दोब्बर मूल्यमा बिक्री गर्दै आएका थिए। व्यापारीहरूले सेटिङ गरेर किसानलाई आफूले तय गरेको मूल्यमा तरकारी बिक्री गर्न बाध्य पार्थे।

हाट बजारमा बिहान सस्तोमा खरिद गरेको तरकारी व्यापारीहरूले भने दोब्बरमा बिक्री गर्ने उर्दी जारी गर्थे। किसानले हाट बजारमा बस्न नपाउने, उत्पादन गरेको तरकारी आधा मूल्यमा बिक्री गर्नुपर्ने अवस्था हटाउन, मेहनत गर्नेले मूल्य पाउन र उपभोक्ताले पनि उचित मूल्यमा किसानबाट सोझै तरकारी खरिद गर्न सकुन भनेर किसान परिचय पत्रको अवधारणा ल्याइएको नगर प्रमुख हमालको भनाइ छ। उनले कृषि हाटबजारमा कुनै पनि हालतमा गैरकिसानहरूलाई प्रवेश नदिने स्पष्ट पारेका छन्।

‘हाट बजारको निर्माण भएको किसानहरूका लागि हो। किसान परिचयपत्र नभएका व्यक्तिलाई आन्दोलन गरे पनि, टाउको फोडे पनि हामी हाटबजारमा व्यापर गर्न दिन्नौँ,’ उनले भने, ‘हाटबजारमा आफ्ना उत्पादन बिक्री गर्ने हक किसानहरूको हो। गैरकिसानहरूलाई कुनै पनि हालतमा हाटबजारमा पश्न नदिन नगर प्रहरीलाई स्पष्ट निर्देशन दिएका छौँ।’

नगर प्रमुख हमाले अगाडि भने, ‘नगर प्रहरीलाई गालीगलौज, हातपात र दुर्व्यवहार गर्ने प्रवृत्ति निरुत्साहित पार्न उपमहानगरले मुद्दा दर्ता गर्नुपरेको हो।’ नगर प्रमुख हमालले कृषि शाखाबाट धनगढीमा कृषि गर्ने किसानको परिचयपत्र बन्ने भए पनि साहिल र साहरूख खानले परिचयपत्रका लागि कृषि शाखा सम्पर्क नगरेको तर एक्कासी हाटबजारमा आएर नगर प्रहरीलाई दुर्व्यवहार गरेको नगर प्रमुख हमालले बताए। कानुन र नियम नमान्ने उल्टै सम्झाउन खोज्दा दुर्व्यवहारमा उत्रिएका खान दाजुभाइले कसैको उक्साहटमा अभद्र व्यवहार गरेका हुन् कि भन्ने आशंका उब्जिएको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस