सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको प्रसिद्ध लटिनाथ मन्दिरमा जात्रा 

२०८० कार्तिक २९, ११:४९ खबर संवाददाता

दार्चुलाः दार्चुलामा रहेको प्रसिद्ध लटिनाथ मन्दिरमा आज राति जात्रा लाग्दैछ। हरेक वर्ष कार्तिक शुक्ल द्वितीयाको राति लटिनाथ मन्दिरमा पूजाआजासहित जात्रा लाग्ने गरेको छ।

दार्चुलाको मार्मास्थित तलाइमाण्डौंमा मूलथान रहेको लटिनाथ देवताका ठाउँठाउँमा मन्दिरहरु रहेका र ती मन्दिरहरुमा स्थानीय परम्परा अनुसार आज राति जात्रा लाग्ने गरेको दार्चुलाका स्थानीय विष्णु जोशीले बताए। मलैनाथ अर्थात मालिकार्जुनका पुत्रका रुपमा रहेका लटिनाथ मन्दिरमा हरेक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन जात्रा लाग्ने गरेको जोशीले बताए। ठाउँ अनुसार लटिनाथलाई लटबाब, लट्या, लाटो आदि नामले पुकारिने गरेको जोशीले बताए।

लटिनाथ देवतलाई न्यायका देवताको रुपमा पूजाआजा गर्ने गरिन्छ। मालिकार्जुन देवताकै बरदानका आधारमा लटिनाथ देवताको पहिला पूजाआजा हुने गरेको स्थानीय जानकारहरुले बताएका छन्। मालिकार्जुन अर्थात मलैनाथले हुणदेशका राजा छिपलाकी रानी भागाश्रीलाई आफ्नी आठौं रानीको रुपमा भित्र्याएपछि छिपलाले मलैनाथ र भागाश्रीको निवासस्थान शिखरधुरामा आक्रमण गर्दा लटिनाथले प्रतिकार गरेकाले पहिलो पूजा लटिनाथ देवताको गर्ने गरिएको छ।

मालिकार्जुनको पूजा कार्तिक शुक्ल चर्तुदशीका दिन हुने गरेको छ। हरेक वर्ष भाइटीकाका दिन शैल्यशिखर नगरपालिका–७ स्थित लटिनाथ मन्दिर बन्तोलीमा ठूलो जात्रा लाग्ने गरेको जोशीले बताए। सो जात्रामा टाढाका भक्तजनहरु समेत आउने गरेका छन्। मूलथान तलाईमाण्डौं भएपनि दार्चलाको पछि बन्तोली, विजयपुर, चौड र खर्कमा समेत लटिनाथ देवताको मन्दिर रहेको छ। जात्राको अवसरमा मन्दिर आसपासका क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको शैल्यशिखर नगरपालिका वडा नम्बर–८ का वडा अध्यक्ष पुष्पराज जोशीले बताए। 
 

कमेन्ट लोड गर्नुस