सुदूर नेपाललाई विश्वसँग जोड्दै

सटर भाडा तिर्न धनगढीका व्यवसायीको अटेरी, कृषि सामग्रीको डेढ करोड ‘होल्ड’

२०८० कार्तिक २१, १०:४१ कमल सावद

धनगढीः कृषि सामाग्री कम्पनी लिमिटेड, प्रादेशिक कार्यालय धनगढीले १७ वटा सटर भाडामा लगाएको छ। कम्पनीले भदौंसम्म एकवटा पसलबाट मात्र भाडा वाफतको रकम सङ्कलन गरेको छ। कम्पनीलाई १६ वटा पसल सञ्चालकले पूरा भाडाको रकम दिएका छैनन्।

कोरोना सङ्क्रमणको समयदेखि सटरहरूको भाडा कम्पनीले सङ्कलन गर्न नसकेको हो। कृषि सामाग्री कम्पनी लिमिटेड, प्रादेशिक कार्यालय धनगढीका निमित्त प्रमुख नवल बोगटीले लकडाउनदेखिको भाडाको रकम उठ्न बाँकी रहेको बताए। उनले भने, ‘कतिले दिनु भएको छ। कतिले दिरहनु भएको छ। कतिले दिनु भएको छैन। दिन्छु भन्नु भएको छ। १७ मध्ये एउटा पसलबाट मात्र भाडावाफतको रकम प्राप्त भएको छ।’

कृषि सामाग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय, धनगढीले एक करोड ५२ लाख ६४ हजार तीन सय ७३ रुपैयाँ ३९ पैसाँ भदौ महिनासम्म असुल गर्न बाँकी छ। व्यवसायीहरुलाई पटक–पटक पत्राचार गर्दा पनि व्यवसायीले सटरको भाडा तिर्न अटेरी गरेका हुन्। व्यवसायीहरुले कोरोना सङ्क्रमणको समयमा व्यापार बन्द भएको र पछि सडक निर्माणको काम पूरा नभएकाले व्यापार पनि नभएको भन्दै भाडाको रकम तिर्न मानेका छैनन्।

बोगटीले भने, ‘लकडाउन पहिलादेखिको बाँकी छ। केहीले घटाउनु भएको छ। व्यापार छैन भन्नु हुन्छ।’ बैष्ट फेमस लिक्वायर वाइन सपले १२ लाख ८६ हजार तीन सय ५६ रुपैयाँ, आरडी फेन्सी स्टोरले ६ लाख १९ हजार तीन सय ६४, आरडी फेन्सी स्टोरले नै थप चार लाख २५ हजार सात सय तीन, ब्लुस्टार बेबी सपको १२ लाख ९२ हजार नौ, ब्लुस्टार बेबी सपको अर्काे सटरको १५ लाख ३६ हजार ६ सय ४४, आँचल चस्मा सेन्टरले २ लाख ९८ हजार तथा आँचल फेन्सी स्टोरले २ लाख ८५ हजार पाँच सय ३२ रुपैयाँ सटर भाडाको तिर्न बाँकी छ।

साथै सम्झौता अनुसारको भाडा असुल गर्न कृषि सामाग्री कम्पनी आफै असफल देखिएको छ। कृषि सामाग्री कम्पनी लिमिटेड, प्रादेशिक कार्यालय धनगढीका निमित्त प्रमुख नवराज बागटीले सम्झौता अनुसारको सटर भाडा नउठेको बताए। सात/आठ वटाले रकम नदिएको बताए। 

भन्डारी सु सेन्टरले ९ लाख ९२ हजार ६ सय ६८, एटुजेड बेबी सपले १४ लाख सात रुपैयाँ, आस्का सु सेन्टरले १३ लाख ३९ हजार नौ सय ८७, पाठक चस्मा सेन्टरले एक लाख १५ हजार पाँच सय तीन, प्यारा डाइजले १३ लाख १० हजार तीन सय ५५, निङ्लासैनी फेन्सी स्टोरले १५ लाख २६ हजार ८३, युनिक स्पोर्टले १७ लाख ६० हजार सात सय ५०, न्यू सहारा फेन्सीले सात साय २८ हजार तीन सय २५ र आयुष अटोले तीन लाख ४६ हजार ८३ रुपैयाँ सटर भाडा बुझाउन बाँकी छ।

कृषि सामाग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय, धनगढीले साढे एक करोड बढी सटर भाडा वाफतको रकम सङ्कलन गर्न बाँकी छ। धनगढीको पुरानो भन्सार रोडमा रहेको कार्यालयले १७ वटा सडक भाडामा दिएको छ। तर, धनगढीका व्यवसायीले २ वर्षदेखि  कम्पनीलाई भाडा बुझाउन आनाकानी गर्दै आएका हुन्।

कोरोना सङ्क्रमणका कारण लकडाउनमा व्यापार बन्द भएपछि आर्थिक संकटमा परेका व्यवसायीहरु अहिले सडक निर्माणको काम जारी रहेकाले समस्यामा छन्। व्यापार नभएको र आर्थिक मन्दिका कारण समस्या भएको भन्दै १६ व्यवसायीक फर्मले एक करोड ५२ लाख ६४ हजार तीन सय ७३ रुपैयाँ कृषि सामाग्रीलाई दिन बाँकी छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस