जाजरकोटको भूकम्पबाट १५७ जनाको मृत्यु

धनगढीः जाजरकोट भूकम्पबाट १५७ जनाको मृत्यु भएको छ। दुई जिल्लामा १५७ जनाको मृत्यु भएको छ भने ६ जिल्लामा २०२ जना घाइते भएका छन्।
भूकम्पमा परी शनिवार बेलुकीसम्म जाजरकोट र रुकुम पश्चिममा १५७ जनाको मृत्यु भएको हो। भूकम्पको केन्द्रबिन्दु रहेको जाजरकोटमा १०५ जनाको र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ।
त्यस्तै, भूकम्पबाट जाजरकोट र रुकुम पश्चिमसँगै कर्णाली र सुदूरपश्चिमका ६ जिल्लामा घाइते भएका छन्। जाजरकोटमा १०५, रुकुम पश्चिममा ८५, दैलेखमा तीन, बैतडीमा तीन, जुम्लामा पाँच र रोल्पामा एक जना घाइते भएका छन्। उनीहरूमध्ये केही गम्भीर रहेका छन्।
गम्भीर घाइतेलाई उपचारका लागि सुर्खेत, नेपालगन्ज र काठमाडौँ लगिएको छ। सामान्य घाइतेको स्थानीय स्वास्थ्य संस्था तथा जिल्ला अस्पतालमा उपचार भइरहेको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्धारमा खटिएको छ। अझै पनि खोज र उद्धारको कार्य जारी रहेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता थापाले बताए।
गएराति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्नेच्युडको भूकम्प गएको हो। भूकम्पबाट जनधनको ठूलो क्षति भएको छ।

