सुदूर नेपाललाई विश्वसँग जोड्दै

भूकम्प अपडेटः दुई जिल्लामा अहिलेसम्म १२८ जनाको मृत्यु

२०८० कार्तिक १८, ०८:३३

कैलालीः शुक्रबार मध्यरातमा गएको भूकम्पमा परि दुई जिल्लामा अहिलेसम्म १२८ जनाको मृत्यु भएको छ। जाजरकोटमा मात्र ९२ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डीएसपी सन्तोश रोकाका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ९२ जनाको ज्यान गएको पुष्टि भएको हो।

ज्यान गुमाउनेहरूमा भेरी नगरपालिकाका, नलगाड नगरपालिकाका, कुशे गउँपालिका र छेडागाड नगरपालिकाका रहेका छन्। त्यस्तै, अहिलेसम्म भूकम्पमा परी कम्तीमा ५५ जना घाइते भएको विवरण प्राप्त भएको डिएसपी रोकाले जानकारी दिए। घाइतेहरूमध्ये ५ जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ भने बाँकीको उपचार जिल्ला अस्पताल र अन्य स्थानीय स्वास्थ्य संस्थामा भइरहेको रोकाले बताए।

यसैगरी, छिमेकी जिल्ला रुकुम पश्चिममा पनि भूकम्पले ठूलो क्षति गरेको छ। जिल्ला प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईका अनुसार रुकुम पश्चिममा अहिलेसम्म ३६ जनाको मृत्यु भएको छ। रुकुम पश्चिममा भूकम्पमा परी ८५ जना घाइते भएका छन्। तीनवटै सुरक्षा निकायको सक्रियतामा घाइतेहरूको उद्धारलगायतका काम भइरहेको दुवै जिल्लाका सुरक्षा प्रमुखहरूले बताएका छन् ।

कमेन्ट लोड गर्नुस