सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्र बैंक आइतवारदेखि सुन र चाँदीका सिक्का बिक्री गर्दै 

२०८० कार्तिक १५, ०८:४० खबर संवाददाता

काठमाडौँः  यस वर्षको तिहारलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले सुनका सिक्का (असर्फी) र चाँदीका सिक्का मेडालियन सर्वसाधारणलाई बिक्री गर्ने भएको छ। राष्ट्र बैंकले आउँदो आइतवार कार्तिक १९ देखि २४ गतेसम्म सिक्का बिक्री गर्ने बुधवार सूचनामार्फत जानकारी गराएको छ।

राष्ट्र बैंकले १० ग्राम, ५ ग्राम र २.५ ग्रामका सुनका सिक्का (असर्फी) र विभिन्न दरका गाई अंकित, गणेश अंकित र गजलक्ष्मी अंकित चाँदीका सिक्का बिक्री गर्न लागेको हो। नेपाल राष्ट्र बैंकले दसैंअघि (गत असोज ७ देखि) राष्ट्रिय जनावर गाईको चित्र अंकित मेडालियन सिक्काको बिक्री वितरण सुरु गरेको थियो। त्यसयता बबरमहलस्थित टक्सार महाशाखाले १० र २५ ग्रामका चाँदीका मेडालियन सिक्का टकमरी गरी बिक्री गरिरहेको छ।No description available.

दर उल्लेख नगरी निस्कासन गरिएको सिक्कालाई मेडालियन भनिन्छ। १० ग्राम सिक्काको मूल्य १ हजार ६ सय रुपैयाँ र २५ ग्राम सिक्काको मूल्य ४ हजार रुपैयाँ तोकिएको छ। राष्ट्र बैंकसँग मौज्दात रहेको चाँदीलाई गलान गरी मेडालियन सिक्का टकमरी गरिएको महाशाखाले जनाएको छ। दुवै प्रकारका सिक्कामा ९९९ टचको चाँदी प्रयोग गरिएको राष्ट्र बैंकको दाबी छ।
 

कमेन्ट लोड गर्नुस