राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना आज एंगोला जाँदै
काठमाडौँः अफ्रिकी मुलुक एंगोलाको लुवान्डामा आयोजना हुने अन्तरव्यवस्थापिका संघ (आईपीयू)को १४७ औं महासभामा भाग लिन राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आज राती एंगोला प्रस्थान गर्दै छन्। अध्यक्ष तिमिल्सिना एंगोलामा कार्तिक ६ देखि १० सम्म हुने १४७ औं महासभामा ९ सदस्यीय नेपाली संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गरेर राती १ः५५ बजे प्रस्थान गर्न लागेका हुन्।
शान्ति, न्याय र सशक्त निकायहरूका लागि संसदीय सक्रियता भन्ने नाराका साथ हुन लागेको महासभामा नेपालको तर्फबाट सहभागी हुने प्रतिनिधि मण्डलमा राष्ट्रिय सभाका सदस्यद्वय कुमार दसौंदी र जितेन्द्रनारायण देव तथा प्रतिनिधि सभाका सदस्यद्वय रुपा सोसी चौधरी र सन्तोष परियार, संघीय संसदका महासचिव भरतराज गौतम, सहसचिव वविता मिश्र, उपसचिव त्रिविक्रम पराजुलीलगायत हुनेछन्।