सुदूर नेपाललाई विश्वसँग जोड्दै

हवाई भाडामा एयरलाइन्स कम्पनीको मनपरी, धनगढी पुग्न १७ हजार!

२०८० असोज २८, ०३:१० खबर संवाददाता

धनगढीः हवाई भाडामा एयरलाइन्स कम्पनीहरुको मनपरी बढेको छ। चाडपर्व सुरु भएसँगै हवाई भाडामा ६ हजारले वृद्धि गरिएको छ।

काठमाण्डौँबाट धनगढी आइपूग्ने यात्रुबाट १७ हजारका दरले निजी कम्पनीका एयरलाइन्सहरुले रकम असुल्न थालेका हुन्। साथै चाडपर्वमा यात्रुले महङ्गो भाडा तिरेर भए पनि हवाई टिकट पाउन भने सास्ती भइरहेको छ। यही मौकामा एयरलाइन्स कम्पनीहरुले आफुअनुकुल भाडा असुल्न थालेका हुन्। 

गत वर्षको दसैंमा १७ हजार ६ सय हवाई भाडा तिरेर काठमाडौँदेखि धनगढी हुँदै बझाङ पुगेका बसन्तराज जोशीलाई यो वर्ष महङ्गोमै भए पनि टिकट पाउन सकस भएको हो। दुर्गम रुटमा चल्ने थोरै सङ्ख्याका जहाजको कम उडान हुने भएपछि ठूला विमानस्थलबाट दुर्गम भेगमा पुग्ने यात्रुले थप सास्ती खेप्नु परेको छ।

धनगढीकी निशा पाण्डे पनि दसैंको टिकट जोहोका लागि एयरलाइन्स धाएकी हुन्। अनलाइन बुकिङ सकिएको र सम्बन्धित एयरलाइन्सको टिकट काउन्टरमा पनि टिकट नपाएर हैरानी खेप्नु परेको उनले बताएकी हुन्। दसैंमा आवतजावत गर्ने महत्वपूर्ण माध्यम भनेको सडक तथा हवाई यातायात नै हो।

अझ प्रभावकारी यातायातका रुपमा हवाईसेवालाई लिइन्छ। बुद्ध एयरका अनुसार दसैंको घटस्थापनासम्मका लागि काठमाडौँदेखि धनगढीसम्म दसैंका लागि अधिकतम भाडादर १७ हजार एक सय ८६ रुपैयाँ रहेको छ। उक्त गन्तव्यमा अहिले सहुलियत भाडादर ११ हजार रुपैयाँ छ। सहुलियत भाडादरको टिकट सकिएपछि अधिकतम भाडादर तिर्नु पर्दा मंहगो पर्न गएको एयरलाइन्स कम्पनीहरुको दाबी छ।

पुरानै मूल्यमा हवाई इन्धन पाए पनि एयरलाइन्सहरूले मनपरी रुपमा भाडा असुल्दै आएका हुन्। बुद्ध एयरको काठमाण्डौँ–धनगढी सहुलियत भाडादर ११ हजारदेखि १७ हजार दुई सयसम्म निर्धारण गरिएको कम्पनीले जनाएको छ। चाडपर्वको समयमा आन्तरिक उडानको भाडा दर एक्कासी बढाइएको हो।

आन्तरिक उडानमध्ये सबैभन्दा लामो दूरीमा रहेको काठमाडौं–धनगढीको हवाइ भाडा दर दसैं नजिकिएसँगै बढेर दोब्बर पुगेको छ। सामान्यतया मौसम सफा भए काठमाडौं–धनगढीको हवाइ यात्रा गर्न १ घण्टा १५ मिनेट लाग्छ। तर १ घण्टा ४५ मिनेटको दूरीमा रहेको भारतको नयाँ दिल्लीसम्मको टिकट भने बढीमा १४ हजारमै उपलब्ध हुन्छ।

काठमाडौंभन्दा भारतको राजधानीको टिकट सस्तो भएपछि सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी हुन थालेको छ। पछिल्लो समय इवाई इन्धनको मुल्य समेत बढेको छैन्। तर हवाई सेवाको भाडादर मनपरी रुपमा थप बढेपछि चाडपर्वमा घर आउने सर्वसाधारणले महंगै मूल्य चुकाउनु परेको छ।

कमेन्ट लोड गर्नुस