सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उपमहानगरभित्र १५९ व्यावसायिक फर्म दर्ता नगरेरै सञ्चालनमा

२०८० असोज २७, १०:०० नारायण अवस्थी

धनगढीः सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगर धनगढीले चालु आर्थिक वर्षको तीन महिनामा ३९९ व्यावसायिक फर्ममा अनुगमन गरेको छ। नगर उप–प्रमुख नेतृत्वको बजार अनुगमन तथा उपभोक्ता हित संरक्षण समितिले गरेको अनुगमनमा १५९ पसल तथा व्यापार व्यवसाय दर्ता बिना सञ्चालनमा रहेको पाइएको छ।

यस्तै, २०६ पसल तथा व्यापार–व्यवसाय नवीकरण नगरी चलाइएको पाइएको छ। बजार अनुगमन समितिले बजार व्यवस्था ऐन, २०७९ को दफा २४ को ४ अनुसार बजार अनुगमनका क्रममा नियम विपरीत सञ्चालनमा रहेका पसल, होटेल र अन्य व्यापारिक फर्मलाई दर्ता हुन, नवीकरण गर्न र नियमानुसार सरसफाइ कायम राख्न र मूल्य सूची र साइनबोर्ड राख्न निर्देशन दिएको हो।

बजार अनुगमन समितिले साउन १२ गते वडा नम्बर ७ का २० पसलमा अनुगमन निरीक्षण गरेको छ। अनुगमनका क्रममा दर्ता बिनाका ११ र नवीकरण नगरी ८ पसल सञ्चालनमा रहेको पाइएको छ। साउन १६ गते वडा नम्बर ८ मा २३ पसलमा अनुगमन गरिएकोमा १४ दर्ता बिना तथा ८ नवीकरण नगरी चलाइएको पाइएको छ।

साउन २२ गते वडा नम्बर ९, १० र १२ मा गरिएको बजार अनुगमनमा २८ पसलको निरीक्षण गरिएकोमा ११ दर्ता नगरी सञ्चालनमा रहेको पाइएको छ भने १८ पसल नवीकरण नगरिएको फेला परेका छन्। साउन २५ गते वडा नम्बर १३ का २६ पसलमा अनुगमन गरिँदा १४ दर्ता नगरी चलाइएको पाइएको छ भने ५ पसल नवीकरण नगरी सञ्चालनमा रहेको अनुगमन समितिले फेला पारेको छ।

साउन २९ गते वडा नम्बर १४, १८ र १९ का २९ पसलमा उपमहानगरले अनुगमन गरेको छ। अनुगमनका क्रममा १४ पसल दर्ता बिना र १० पसल नवीकरण नगरी चलाइएको पाइएको छ। भदौ ५ गते बजार अनुगमन समितिले वडा नम्बर १५ र १६ का २१ पसलको अनुगमन निरीक्षण गरेको छ। जसमा १३ दर्ता बिना र ९ पसल नवीकरण नगरी चलाइएको पाइएको छ।

भदौ १२ गते धनगढीका २१ पसलमा उपमहानगरले अनुगमन गर्दा ९ पसल दर्ता बिना र ७ पसल नवीकरण नगरी चलाइएको पाइएको छ। यस्तै, भदौ १८ मा वडा नम्बर २ का ३४ पसल अनुगमन गर्दा ६ दर्ता नगरी चलाइएकोमा २५ पसल नवीकरण नगरी सञ्चालनमा रहेको पाइएको छ। भदौ २४ मा वडा नम्बर ३ मा गरिएको बजार अनुगमनमा ३१ पसलको निरीक्षण गर्दा ४ दर्ता नगरिएका र २५ पसल नवीकरण नगेरिएका फेला परेका छन्।

उपमहानगरले भदौ २५ मा वडा नम्बर ४ मा बजार अनुगमन गरेको छ। ३१ पसलमा गरिएको अनुगमनमा ६ दर्ता नगरी र २६ पसल नवीकरण नगरेरै चलाइएको पाइएको छ। यसैगरी असोज ४ गते वडा नम्बर १ मा गरिएको बजार अनुगमनमा ३३ पसलको निरीक्षण गरिएकोमा १५ दर्ता बिना तथा १३ नवीकरण नगरी चलाइएको पाइएको हो। असोज ७ गते वडा नम्बर ४, ५ र १३ का १५ पसलमा अनुगमन गरिएको छ।

अनुगमनका क्रममा ४ पसल दर्ता बिना र ८ पसल नवीकरण नगरी चलाइएको पाइएको छ। असोज ८ र १० गते वडा नम्बर १ र ५ मा गरिएको बजार अनुगमनमा ३३ पसलको निरीक्षण गरिएकोमा दर्ता बिना १० र नवीकरण नगरी १९ पसल चलाइएको फेला परेको छ। उपमहानगरको बजार अनुगमन समितिले असोज १६ गते वडा नम्बर ७ का ३१ पसलमा निरीक्षण गरेकोमा १९ दर्ता नगरी तथा १२ नवीकरण नगरेरै चलाइएको फेला परेको छ।

असोज २३ गते बजार अनुगमन समितिले वडा नम्बर ८ र १ का २३ पसलमा निरीक्षण गरेको छ। जसमा १० वटा पसल दर्ता बिना सञ्चालनमा रहेको फेला परेको छ भने ११ नवीकरण नगरी चलाइएको पाइएको छ। बजार अनुगमन समितिले अनुगमनका क्रमामा व्यापार व्यवसाय सञ्चालकले दर्ता नगरेको भए ७ दिन भित्र व्यवसाय दर्ता गर्न निर्देशन दिएको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस