सुदूर नेपाललाई विश्वसँग जोड्दै

जितिया पर्वमा राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

२०८० असोज २०, ०६:०७ खबर संवाददाता

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जितिया पर्वका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका शुभकामना व्यक्त गरेका छन्।

राष्ट्रपति र प्रधानमन्त्रीले शनिबार बेग्लाबेग्लै शुभकामना सन्देश जारी गरी जितियाजस्ता मौलिक पर्वले सामाजिक एकता र सद्भाव प्रवर्धनमा योगदान गर्ने विश्वास व्यक्त गरेका हुन्।बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विविधतायुक्त विशेषताले भरिपूर्ण नेपालमा जितियाजस्ता मौलिक चाडपर्वले बेग्लै पहिचान स्थापित गर्दै आएको भन्दै उनले यस्ता मौलिक चाडपर्वका माध्यमबाट नेपाली समाजमा आपसी सम्मान, सद्भाव र सहिष्णुताको भावना जागृत गर्ने बताएका छन्।

‘प्रकृति पूजामा आधारित यो पर्वले सबैमा सुख, शान्ति र समृद्धि ल्याई आपसी सद्भाव र सहिष्णुता कायम गर्न सफलता मिलोस् भन्ने कामना गर्दछु’, सन्देशमा राष्ट्रपतिले भनेका छन्।प्रधानमन्त्री दाहालले दिएको शुभकामना सन्देशमा  जितिया पर्वले समाजमा व्याप्त अन्धविश्वास र विभेदलाई अन्त्य गर्दै समानता, समृद्वि र सामाजिक न्यायसहितको समतामूलक समाज निर्माणमा सहयोग पु¥याउने विश्वास व्यक्त गरिएको छ। उनले सामाजिक सम्बन्धको सन्तुलन, आपसी सहकार्य, सद्भाव र सहिष्णुता कायम गर्न जितिया पर्वले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गरेका छन्।

‘बहुजातीय, बहुसांस्कृतिक नेपाली समाजको पहिचानलाई आत्मसात् गरी सामाजिक–सांस्कृतिक सहिष्णुता र सद्भाव कायम गर्नु अपरिहार्य आवश्यकता भएको छ’, उनको शुभकामना सन्देशमा उल्लेख छ। यसै अवसरमा दिएको सन्देशमा उपराष्ट्रपति रामसहायप्रसादयादवले जितियाजस्ता पर्वले नेपालीबीचको एकतालाई बढावा दिने बताएका छन्। 

कमेन्ट लोड गर्नुस