इन्धन र ग्यास आवश्यक मात्रामा प्रयोग गर्न नेपाल आयल निगम को आग्रह
काठमाडौं: नेपाल आयल निगम ले मध्यपूर्व क्षेत्रमा देखिएको पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थ तथा ग्यासको प्रयोग आवश्यक मात्रामा मात्र गर्न उपभोक्तालाई आग्रह गरेको छ।
निगमले बुधबार जारी गरेको सूचनामा हाल देशभर पेट्रोलियम पदार्थको आपूर्ति तथा बिक्री–वितरण सामान्य अवस्थामा रहेको जनाएको छ। तर नेपाल पूर्ण रूपमा पेट्रोलियम पदार्थ आयातमा निर्भर रहेकाले मध्यपूर्व क्षेत्रमा उत्पन्न असहज अवस्थाले अन्तर्राष्ट्रिय बजारमा प्रभाव पार्न सक्ने भन्दै पूर्वसतर्कता अपनाउनुपर्ने आवश्यकता रहेको निगमले उल्लेख गरेको छ।
निगमका अनुसार केही देशहरूले पेट्रोलियम पदार्थको बिक्री–वितरण तथा प्रयोगमा नियन्त्रणात्मक उपाय अवलम्बन गर्न थालेका छन्। यस्तो अवस्थामा सम्भावित प्रभावलाई ध्यानमा राख्दै नेपालमा पनि इन्धन र ग्यासको प्रयोगमा संयमता अपनाउनुपर्ने देखिएको छ।
निगमले उपभोक्तालाई आवश्यकताअनुसार मात्र पेट्रोलियम पदार्थ तथा ग्यास प्रयोग गर्न, एक सिलिन्डरले काम चल्ने अवस्थामा अर्को सिलिन्डर भर्न नलगाउन तथा अनावश्यक रूपमा इन्धन भण्डारण नगर्न आग्रह गरेको छ।
साथै ग्यासको सट्टा सकेसम्म विद्युत प्रयोग बढाउन, सवारी साधनमा साझा यात्रा (राइड सेयरिङ)को व्यवस्था गर्न तथा विद्युत उपलब्ध हुँदा जेनेरेटर प्रयोग नगर्न पनि सुझाव दिएको छ।
औद्योगिक क्षेत्रमा पनि पेट्रोलियम पदार्थ तथा ग्यासको प्रयोग सकेसम्म कम गरी आपूर्ति व्यवस्थापनमा सहयोग गर्न उद्योगी–व्यवसायीलाई निगमले अनुरोध गरेको छ।
यसैबीच कृत्रिम अभाव सिर्जना गर्ने उद्देश्यले पेट्रोलियम पदार्थ वा ग्यास भण्डारण गर्ने, बढी मूल्यमा बिक्री गर्ने वा नयाँ सिलिन्डर अनधिकृत रूपमा बजारमा ल्याउने कार्य गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने निगमले चेतावनी दिएको छ।