सुदूर नेपाललाई विश्वसँग जोड्दै

संघीय यात्रामा स्वतन्त्र प्रदेश सांसद, जसले डडेल्धुरामा काँग्रेसको गढ भत्काए

२०८२ फाल्गुन २८, ०४:१८ खबर संवाददाता

डडेल्धुराः रास्वपा उम्मेदवार ताराप्रसाद जोशी डडेल्धुराबाट विजयी भएपछि ३४ वर्षदेखिको कांग्रेस गढ भत्किएको छ । यहाँ २०४८ देखि कांग्रेस पूर्वसभापति शेरबहादुर देउवाले जित्दै आएका थिए । यसपटक उनको सट्टा कांग्रेसले युवा नेता नैनसिंह महरलाई उम्मेदवार बनाएको थियो । तर, महरलाई भारी मतान्तरले पराजित गर्दै जोशीले डडेल्धुराबाट संघीय संसदको यात्रा तय गरेका छन् ।

डडेल्धुरामा खसेको ४५ हजार ५४३ मतमा जोशीले १९ हजार १३१ मत पाएका छन् । उनका निकतम प्रतिस्पर्धी महरले १२ हजार १२१ मत पाएका छन् । नेकपाका मानसिंह मालले ६ हजार ८३४ मत पाएका छन् भने एमालेका चक्रप्रसाद स्नेहीले २ हजार ९२६ मत पाएका छन् । 

जोशीको जन्म ३० चैत २०२७ मा डडेल्धुराकै गन्यापधुरा गाउँपालिका–२ बाजनगाउँमा भएको थियो । उनले भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि (पीएचडी) गरेका छन् । २०६९ सालमा एमाले डडेल्धुराको जिल्ला अध्यक्षसमेत भएका उनी २०७० सालको संविधानसभा निर्वाचनमा कांग्रेसका पूर्वसभापति देउवासँग पराजित भएका थिए ।

२०७४ सालको प्रदेशसभा निर्वाचनमा कर्णबहादुर मल्लसँग हार व्यहोरे जोशी २०७९ सालको प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारीमार्फत निर्वाचित भएका थिए । जोशीको राजनीतिक यात्रा लामो समयदेखि जिल्लाको पार्टी राजनीतिसँग जोडिएको छ । उनी एमाले, एकीकृत समाजवादी, उज्यालो नेपाल पार्टी हुँदै यसपटक  रास्वपामा प्रवेश गरेका हुन् । 

राजनीतिक गतिविधिसँगै जोशीले सामाजिक र आर्थिक क्षेत्रमा पनि सक्रियता देखाएका छन् । समुदायमा आधारित उद्यममार्फत आर्थिक सशक्तीकरण र उत्पादन वृद्धि गर्ने उद्देश्यले विभिन्न पहल गर्दै आएका उनले स्थानीय स्तरमा आर्थिक गतिविधि विस्तार र कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा योगदान पुर्‍याउने सोचका साथ काम गर्दै आएका छन् ।

जोशीले आˆनो पेशागत जीवन अध्यापनबाट सुरु गरेका थिए । उनले डडेल्धुराको वीर बलभऽ माध्यमिक विद्यालय, कोटेलीमा अध्यापन गरेका थिए भने पछि भुवनेश्वरी उच्च माध्यमिक विद्यालय, डडेल्धुरामा पनि शिक्षकका रूपमा कार्य गरेका थिए ।

विजयपछि जोशीले देशको राजनीतिलाई नयाँ ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘यो देशको राजनीतिलाई नयाँ तरिकाले सुरक्षित गरेर अगाडि बढाउनुपर्छ,’ उनले भने, ‘यसपटकको परिणाम जनताले खोजेको परिवर्तनको अभिव्यक्ति हो ।’ 

कमेन्ट लोड गर्नुस