सुदूर नेपाललाई विश्वसँग जोड्दै

भूकम्प पीडितलाई तत्काल राहत दिन सुदूरपश्चिमका सांसद र नेताहरुको माग

२०८० असोज १८, ०२:३२ खबर संवाददाता

धनगढीः सुदूरपश्चिमका सांसद र नेताहरुले बझाङलाई केन्द्र बनाएर मंगलबार गएको भूकम्पबाट पीडितको विवरण संकलन गर्दै पीडितलाई तत्काल राहत दिन र पुनर्स्थापनाको प्याकेज ल्याउन सरकारसँग माग गरेका छन्। 

आज (बिहीबार) बिहान प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालुवाटार पुगेका नेताहरुले भूकम्पले बझाङका तलकोट, मस्टा, खप्तडछान्ना, जयपृथ्वी नगरपालिका, सुर्मा, छविसपाथिभेरा, दुर्गाथली, थलारा, केदारस्यु, वित्थड, बुङगलगायत स्थानीय तहहरु र सुदूरपश्चिमका अन्य जिल्लाहरुमा समेत धनजनको ठूलो क्षति भएको भन्दै राहतका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्।

मंगलबारको भूकम्पले एक जनाको ज्यान गएको छ भने २१ वटा सामुदायिक भवन, अधिकांश सामुदायिक विद्यालय र हजारौंको संख्यामा निजी व्यक्तिका घरमा क्षति पुगेको छ। भूकम्पपीडितलाई तत्काल राहत र पुनर्स्थापनाका कार्यक्रम ल्याउन माग गर्दै बझाङबाट निर्वाचित सांसद एवम् संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति भानुभक्त जोशी, अछामबाट निर्वाचित सांसदहरु शेरबहादुर कुँवर र पुष्पबहादुर शाह, संविधानसभा सदस्य धर्मराज विश्वकर्मा, दुर्गाथली गाउँपालिका बझाङका अध्यक्ष दिलबहादुर थापा लगायतको टीम प्रधानमन्त्री निवास पुगेको थियो।

कमेन्ट लोड गर्नुस