सुदूर नेपाललाई विश्वसँग जोड्दै

उत्तर पश्चिमी नाका टिंकरमा टेलिकमको टुजी सेवा

२०८० असोज १७, ०३:०७ खबर संवाददाता

धनगढीः नेपाल टेलिकमले नेपालको उत्तर पश्चिमको अन्तिम बस्ती टिंकरमा मोबाइल सेवा सञ्चालनमा ल्याएको छ। मंगलवारदेखि सो क्षेत्रमा मोबाइल सेवा सञ्चालनमा ल्याएको टेलिकमले जनाएको हो।

चीनको सिमानासँग जोडिएको दार्चुला जिल्लाको व्यास गाउँपालिका वडा नम्बर १ मा अवस्थित उत्तर पश्चिमी नाका टिंकरमा नेपाल टेलिकमले भी–स्याट प्रविधिमार्फत टुजी प्रविधिको सेवा सञ्चालनमा ल्याएको छ। कम्पनीले यसका लागि आवश्यक सामग्री कैलालीको अत्तरिया र दार्चुलाको छाङरुबाट टिंकर पु¥याएको थियो।

पहिले सो क्षेत्रमा भी–स्याट प्रविधिका दुई लाइन टेलिफोन सञ्चालनमा थिए। अब भने टिंकर क्षेत्रमा रहेका करिब ५०० सेवाग्राहीले आफ्नै मोबाइलबाट कुराकानी गर्न सक्ने छन्। यो बाहेक सो क्षेत्रमा अवस्थित सशस्त्र प्रहरी बल र इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी तथा सो क्षेत्रमा आउने पर्यटकहरू समेत यसबाट लाभान्वित हुने टेलिकमले जनाएको छ।

करिब तीन हजार ७०० मिटरको उचाइमा अवस्थित टिंकर भारत सहितको त्रिदेशीय सिमाना जोडिएको स्थान छाङरुबाट करिब १२ किलोमिटर र सदरमुकाम खलंगाबाट करिब ८० किलोमिटर दूरीमा अवस्थित छ।

त्यहाँबाट करिब ८ किलोमिटर हिँडेपछि चीनको सिमानास्थित १ नम्बर पिलर पुग्न सकिन्छ।

प्रतिफल कम आउने र तुलनात्मक रूपमा लगानी बढी हुने स्थानहरूमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै टिंकरमा समेत सेवा सञ्चालनमा ल्याइएको टेलिकमले जनाएको छ।

 

कमेन्ट लोड गर्नुस