कञ्चनपुरमा लक्ष्मी हत्या प्रकरणः संलग्न पाँचमध्ये चार जना पक्राउ

धनगढीः गत साउन ३० गते कञ्चनपुरको पुनर्वास नगरपालिका–३ आइबिआरडी बजारदेखि ‘घ’ गाउँ जाने सडक खण्डमा लक्ष्मी घर्ती मृत अवस्थामा फेला परेकी थिएन।
सोही ठाउँकी २७ वर्षीया घर्तीको हत्यामा पाँच जना संलग्न रहेको कञ्चनपुर प्रहरीले निष्कर्ष निकालेको छ। मङ्गलबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले निकालेको प्रेस नोटमा लक्ष्मीको हत्यामा पुनर्वास, बेलौरी र लालझाडीका पाँच युवक संलग्न रहेको उल्लेख गरिएको छ।
प्रहरी अनुसन्धानबाट गत साउन २९ गते साँझ ५ः३० मा मामाघर जान्छु भनेर घरबाट निस्किएको भए पनि उनलाई सोही दिन ५ः३५ मा बेलौरी नगरपालिका–१ का २७ वर्षीय सरोज राना, सोही ठाउँका १९ वर्षीय राहुल राना, लालझाडी गाउँपालिका–१ नौरङ्गाका ३३ वर्षीय सेनराज राना, ३० वर्षीय राजकुमार राना र पर्शु रानाले ललाई फकाइ मोटरसाइकलमा राखेर लालझाडी जङ्गलमा हात्ती हेर्न बनाइएको टहरामा लगी मदिरा सेवन गराएर टहराको तेस्रो तलाबाट खसालेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
राति ९ः३० बजेको समयमा टहराबाट खसाउदा गम्भीर घाइते भई बेहोस अवस्थामा रहेकी लक्ष्मीलाई पाँचै जनाले मोटरसाइकलमा राखेर मृतकको माइतीघर नजिकै सडक किनारमा फालेर भागेको तथ्री प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ। प्रहरीले अनुसन्धानको क्रममा असोज १४ गते सरोज राना, सेनराज राना, राहुल राना र पर्शु रानालाई पक्राउ गरी जिल्ला अदालतमा ज्यान मुद्दा दर्ता गरेको जनाएको छ भने घटनामा संलग्न राजकुमार रानाको खोजतलास भइरहेको छ।



