सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरमा प्रतिबन्धित औषधिको बिक्री निर्बाध, ‘एन्टिबायोटिक’ नै हानिकारक

२०८० असोज ६, ०९:५५ नारायण अवस्थी

धनगढीः रुघाखोकी लाग्दा, ज्वरो आउँदा, टन्सिल हुँदा र अन्य स्वास्थ्य समस्या देखिँदा नजिकैको मेडिकल र फार्मेसीमा गएर आफूखुसी एन्टिबायोटिक किनेर खाने गर्नुभएको छ? यदि यस्तो गर्नुहुन्छ भने यो बानी निकै घातक भएकाले आजबाटै सुधार गरिहाल्नु होस्। बिरामी हुँदा जथाभावी एन्टिबायोटिक खाँदा व्यक्तिको स्वास्थ्यमा गम्भीर समस्या देखिने र पछि बिरामी हुँदा कुनै पनि औषधीले काम गर्न नसक्ने अवस्था आउन सक्छ।

यति मात्रै होइन, जथाभावी एन्टिबायोटिक औषधीको सेवनले शरीरका महत्वपूर्ण अङ्गमा गम्भीर समस्या निम्तिन सक्छ। लामो समयसम्म जथाभावी एन्टिबायोटिक सेवन गर्दा त्यसले काम नगर्ने र शरीरको रोगप्रतिरोधात्मक क्षमता घटाउनेजस्ता समस्या देखा पर्छन्। त्यसैले बिरामी हुनासाथ आफूखुसी एन्टिबायोटिक खान नहुने सेती प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसिय डाक्टर निराजनदत्त शर्मा पौडेल बताउँछन्।

‘जथाभावी एन्टिबायोटिक खाने बानीले जटिल स्वास्थ्य समस्या निम्तिने खतरा हुन्छ। बिरामी पर्दा कल्चर जाँछ गराएर मात्रै एन्टिबायोटिक औषधी खानुपर्ने हुन्छ,’ उनले भने, ‘तर, सर्वसाधारणमा बिरामी हुँदा फलानो औषधी दिनुस् भनेर काउन्टरबाट किनेर खाने बानी छ। यो बानी निकै घातक हो। एन्टिबायोटिक र चक्लेट खानु एकै होइन।’ एन्टिबायोटिकको जथाभावी प्रयोग र सेवनले व्यक्तिको शरीरमा पछि कुनै पनि एन्टिबायोटिकले काम गर्न छोड्छ। जसका कारण उपचारमै समस्या आउने जोखिम बढ्छ।

कुनै पनि बिरामी हुँदा रगत, पिसाब या शरीरका अन्य तरल पदार्थ या टिस्युको प्रयोगशाला परीक्षण अर्थात् कल्चर जाँचपछि मात्रै एन्टिबायोटिक चलाउनुपर्ने हुन्छ। एन्टिबायोटिक  फार्मेसी र मेडिकलबाट चक्लेट बाँडे जस्तै बिक्रीवितरण हुँदा दुरुपयोग बढेको चिकित्सकले बताएका छन्। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दुई वर्ष अगाडि नै १०३ किसिमका एन्टिबायोटिक औषधी उत्पादन र बिक्री–वितरणमा रोक लगाएको छ।

जसमध्ये १४ प्रकारका एन्टिबायोटिक नेपालमा उत्पादन र बिक्री–वितरण हुँदै आएका समेत परेका छन्। विश्व स्वास्थ्य संगठनले  सन् २०२१ मै प्रतिबन्ध लगाएको एन्टिबायोटिक सुदूरपश्चिममा अहिलेसम्म निर्बाध बिक्रीवितरण भइरहेका छन्। प्रतिबन्धित र अन्य एन्टिबायोटिक जहाँ पायो त्यहीँ र जुनसुकै बिरामी हुँदा आफूखुसी सेवन गर्ने बानीले एन्टिबायोटिकले शरीरमा काम नगर्ने जोखिम बढ्ने भएकाले यस्ता औषधीमा बिक्रीवितरणमा रोक लगाइएको हो।

एन्टिबायोटिक बिक्रीवितरणको मापदण्ड हुनुपर्ने  वरिष्ठ फिजिसियन डाक्टर शर्माले बताए। ‘एन्टिबायोटिक प्रिस्क्राइब गर्नुपूर्व बिरामी के हो त्यसको पहिचान गर्नु जरुरी हुन्छ। कल्चर टेष्टको रिपोर्ट चारपाँच दिनमा आउँछ,’ उनले भने, ‘औषधी खाएर बिरामीमा थप स्वास्थ्य समस्या देखा नपरोस् भनेर मेडिकल र फार्मेसीको काउन्टरबाट एन्टिबायोटिक बिक्री गर्नु उचित होइन।’

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले उत्पादन र बिक्रीवितरणमा रोक लगाएका १०३ एन्टिबायोटिक औषधी मध्ये १४ प्रकारका औषधी नेपालमा उत्पादन हुने गरेका छन्। डब्लुएचओले एमोक्सिसिलिन÷प्रोक्सा, एम्टिसिसिलिन÷क्लोक्सा, एमोक्सिसिलिन क्लोक्सा, एसिटिइस्पिरामेसिन तथा मेट्रोनिडाजोल, एम्टिसिलन/डाई क्लोक्सा र बेन्जाएल प्यानिसिलिन र स्ट्रेप्सोमाइटिन प्रयोगमा रोक लगाएको छ।

यस्तै,सेफिपाइम र सल्ब्याकटोम, किमिसेफिपाइम र क्लाबुल्याटिन एसिड, सेफोप्याराजोन र सल्ब्याकाटम, सेफोट्याक्सिन र सल्ब्याकटम, सेट्राइअब्सन र सल्ब्याकटम, सेट्राइअब्सन र ट्याजोब्याक्टोम, सेफ्रुरक्सिम र क्लाबुल्यानिक एसिड तथा ओफ्फोल्क्सासिन र अर्निलाजोल नामक एन्टिबायोटिकसहित एक सय तीन प्रकारका एन्टिबायोटिकमा प्रतिबन्ध लगाएको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस