कञ्चनपुरमा स्वास्थ्यकर्मीमाथि हातपात गर्ने एक जना पक्राउ
धनगढीः कञ्चनपुरमा स्वास्थ्यकर्मीमाथि हातपात गर्ने एक जना पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिकास्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीमाथि हातपात गर्ने व्यक्ति पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आक्रमणमा परेका अहेब नरेन्द्रप्रसाद गैरेको जाहेरी पछि प्रहरीले रामबहादुर खड्कालाई पक्राउ गरेको छ। खड्का माथि प्रहरीले स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको आरोपमा मुद्रा चलाएको छ। बिहिवार म्याद थप गरिएको प्रहरीले बताएको छ। उनी बुधवार पक्राउ परेका हुन्। मङ्गलवार राति स्वास्थ्य केन्द्रको आकस्मिक कक्षमा बिरामीको उपचार गरिरहेका अहेव नरेन्द्रप्रसाद गैरेमाथि हातपात भएको थियो। मङ्गलवार राति साढे ११ बजे डयुटीमा रहेको अवस्थामा आफूमाथि कुटपिट भएको भन्दै पीडित स्वास्थ्यकर्मी गैरेले प्रहरीमा उजुरी दिएका छन्।
कुटपिटबाट गैरेको आँखा, टाउको र घाँटीमा समस्या देखिएको छ। उनी थप उपचारका लागि धनगढी पुगेका हुन्।