सुदूर नेपाललाई विश्वसँग जोड्दै

अन्तराम विष्टको देउर्‍या सार्वजनिक

२०८० भदौ २२, ०१:५३

धनगढी :  कुनै बेला देउडा गायनमा जमेर चर्चित बनेका अन्तराम विष्ट यो बीचमा गुमनाम जस्तै बने । दर्शक तथा श्रोताको मन, मस्तिष्कबाट भने ओझेलमा नपरेका विष्ट २०६६ सालदेखि देउडा संगितको क्षेत्रबाट टाढा भए। यो अवधीमा कञ्चनपुरको गुलेरियामा आफ्नै विद्यालय खोलेर उनी शिक्षण पेशामा क्रियाशील रहे। तर विष्टलाई दर्शक र श्रोताको मायाले फेरि देउडा गायनमा फर्किने हुटहुटी जाग्यो। सोही हुटहुटी लिएर बिष्ट १४ वर्षपछि फेरी सांगितिक क्षेत्रमा फर्किएका छन्।

२७ वर्षअघि रेकर्ड गरिएको चर्चित एलबम बरयातको ‘देउर्या’ बोलको देउडा गीतको शब्द परिमार्जनसहित विष्टले म्युजिक भिडियो बजारमा ल्याएका छन्। विष्टले आफ्नो व्यक्तिगत युट्युब च्यानलबाट बुधवार उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन्।

आफैले सिर्जना गरेको गीत विष्ट र गायिका कृष्णा सिराडीको स्वरमा रहेको छ। २७ वर्षअघि भने गायिका पवित्रा घर्तीमगरले गितमा स्वर दिएकी थिइन्। गीतले देवर र भाउजुबिचको आत्मीयतालाई उजागर गर्ने प्रयास गरेको छ।

‘२७ वर्ष पहिले मैले सिर्जना गरेर बजारमा ल्याएको यो गीत पुरानो भाकामा रहेको छ। अहिले केही शब्द परिमार्जन गरेर समाजसापेक्ष बनाउने प्रयास गरेका छौँ,’ विष्टले भने, ‘यो मेरो लामो समयको विश्राम ९ग्याब० पछिको निरन्तरता स्वरूप ल्याएको हुँ। अब देउडा गायनमा निरन्तरता दिने प्रयास गर्नेछु।’

विष्टले पहिलेको समयमा सुदूरपश्चिममा देउडा गायिकाको अभाव रहेका कारण पूर्वतिरका गायिकामार्फत स्वर दिने गरेकोमा भाषा प्रस्ट नहुँदा केही अन्योलता सिर्जना गरेको अनुभव सुनाए। तर, अहिले भने अहिले प्रदेशकै गायिकालाई स्थान दिइएको बताउदै श्रोता तथा दर्शकले रुचाउने विश्वास उनको छ।

२०६६ सालदेखि देउडा गायन छाडेर शिक्षण पेशामा आबद्ध भएका बिष्टले स्रोत तथा पाठकको मायाले फेरी सांगितिक क्षेत्रमा फर्काएको समेत बताउदै अब निरन्तरता दिने बताएका छन्। ‘टिकट र फेसबुकमा लाइभ बस्दा धेरै दर्शकले नयाँ गीत कहिले सुन्न पाइन्छ भनेर सोध्ने, चासो राख्ने गर्नुभएको थियो। उहाँहरूको प्रतीक्षाको घडी ‘देउर्या’ले पूरा गरेको छ,’ उनले भने, ‘छिट्कै नयाँ भाकामा आधारित भएर अर्को गीत ल्याउने तयारीमा छु । स्रोत तथा दर्शकको मायाले फेरी सांगितिक क्षेत्रमा निरन्तरता दिने प्रयास गर्नेछु।’

२०२७ सालमा बैतडीको पाटनमा जन्मिएका बिष्ट सुदूरपश्चिमको देउडा गायनमा समर्पित गायक मध्येका एक हुन्। २०५१ सालमा गायन क्षेत्रमा प्रवेश गरेका विष्टले २४ वटा एलबम निकालिसकेका छन् भने ७ सय गीतमा स्वर दिएका छन्। पुरुषका जुँगाका बारेमा गाइएको बिष्टको घोप्ट्या जुङ गीत निकै चर्चित भएको थियो। उक्त गीतले २०६६ सालमा डोटेल भाषाको देउडा गीत मध्येकै उत्कृष्ट भएको थियो।

 

कमेन्ट लोड गर्नुस