सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको बडीमालिका पवित्र धार्मिक स्थलको संक्षिप्त चिनारी 

२०८० भदौ १७, ०८:४६

मान सिंह धामी (भौनबाटी) : बडीमालिकाको बारेमा मैले धेरै बखान गर्दा हालै बडीमालिकाको दर्शन गरेर फर्केका मेरा सहकर्मीहरूको लागि हाँस्यास्पद पनि हुन सक्छ । किनकी “तिमी दिल्ली गएको, म दिल्ली जन्मेको” भन्ने उखान चरितार्थ पनि हुन सक्छ । तर विभिन्न सामाजिक सञ्जालका माध्यमबाट र दर्शन गरि फर्केका सहकर्मी साथीहरूसंग प्रत्यक्ष साक्षात्कार गर्न पाउँदा आफू उक्त स्थानमा जान नसके पनि बडीमालिकाको बारेमा केही जानकारी हासिल गर्न पाउँदा प्राप्त जानकारीलाई सामाजिक सञ्जालमा पोष्ट्याउनु मेरो आदत जस्तै भइसकेको छ भन्दा फरक नपर्ला । यस पाली मैले पनि बडीमालिकाको दर्शनगर्न जाने योजना भने नबनाएको होइन, तर मेरो कुलकुटुम्बमा  परेको मृत्यु संस्कारको फेर लाग्ने भएकोले बडीमालिका दर्शनको अवसर जुराउन सकिएन । समुद्री सतहदेखि करिब ४३०० मिटरको उचाईमा रहेको बडीमालिका माईको मन्दिरमा पुग्नको लागि बाजुरा मार्तडीदेखि पैदल तीनदिनको यात्रा र बाटोघाँटोको विकटता सम्बन्धी जानकारी साथीहरूबाट पाउँदा छाँगाबाट खसेजस्तै अनुभूति हुनु र बडीमालिका दर्शनको अवसर नजुरेकोमा पछुतो पनि छैन है । बडीमालिका माताले हामी सबैको सधै रक्षा गरून् ।

हामी नेपालीहरू कुरा ठुलागर्ने, तर कामभने नगर्ने परम्परा जस्तै भइसकेको छ । सुदूरपश्चिम प्रदेश पर्याप्त पर्यटनको सम्भावना बोकेको प्रदेश हो । सुदूरपश्चिमका नौवटै जिल्लामा पर्यटन प्रबर्द्धनको प्रचूर सम्भावना बोकेको बाजुराको बडीमालिका, बझाङको सुर्मासरोवर ताल, अछामको रामारोशन, डोटी लगायतका चार जिल्लाको बीचमा पर्ने खप्तड निकुञ्ज, कैलालीको घोडाघोडी, बेहडाबाबा, कञ्चनपुरको बेदकोट ताल, दक्षिण एशियाकै ठुलो दोधारा चाँदनी झोलुङ्गे पुल, डडेल्धुराको अजयमेरुकोट, बैतडीको निङ्गलासैनी भगवती, त्रिपुरा सुन्दरी, दार्चुलाको राष्ट्रको सातौं धाम शैल्यशिखर मालिकार्जुन, न्यायका देवता बरदानी ढोका हुनैनाथ, उकु महल, अपिनम्पा संरक्षण क्षेत्र, अपि हिमाल, कालापानी आदि पर्यटन प्रबर्द्धनकोलागि प्रख्यात ठाउँहरू रहेका छन् । राज्य पक्षबाट यीं ठाउँहरूको विकास तथा प्रबर्द्धनमा ध्यान नजानु दुःखद कुरो हो । मैले फेरि बडीमालिका सन्दर्भलाई जोड्न चाहे । बडीमालिका दर्शन गरेर फर्केका साथीहरूले दर्शनगर्न जाँदाको बाटोको बयान गर्दा मलाई त डर लाग्यो है । साँच्चिकै म गएको भए उक्त ठाउँमा पुग्न कठिन नै हुन्थ्यो होला भन्ने लाग्यो । भारतले पूर्णागिरीमा कति राम्रो व्यवस्था गरेको छ । बाटोघाँटोको सुगमता, नुहाउने, धुने, बस्ने व्यवस्था, धर्मशालाहरूको निर्माण अति नै राम्रो बनाएको छ । नेपालले बडीमालिका दर्शनकोलागि केवलकारको कुरा त धेरै टाढाको कुरा हो । तर अप्ठ्यारो बाटोमा दायाँबायाँ कम लगानीमा समान्य –यालिङ नै बनाएर भएपनि अलि सहज बनाएको भए कति राम्रो हगि ! नेपालका राजनेताहरूको घैंटोमा घाम कहिले लाग्ला कुन्नी ! आफू बडीमालिका नगएपनि उक्त धार्मिक स्थलमा पुग्न निकै कठिन रहेछ भन्ने कुरा त दर्शनार्थी साथीहरूको अनुहारबाट पनि सहजै अनुमान लगाउन सकिन्छ । 

 नेपालका प्रमुख मन्दिरहरूमध्येको बडीमालिका एक हो । बडीमालिका मन्दिर समुद्री सतहबाट करिब ४३०० मिटरको उचाईमा सेती अञ्चलको बाजुरा जिल्लामा पर्दछ । यहाँ प्रत्येक वर्ष मालिका चतुर्दशीका दिन मुख्य पूजा हुने गर्दछ  । यो वर्ष २०८० को शुभसाइत भाद्र – १३ गते परेको छ ।  बडीमालिका मन्दिरमा दुईजना जना पुजारी रहने प्रावधान छ । जसमा एक जना बाजुराबाट र अर्काे कालिकोटबाट पुजारी हुन्छन् ।

पौराणिक कथा अनुसार महादेवकी पत्नी सतिदेवीका पिता दक्ष प्रजापतिले यज्ञ गर्दा महादेव र सतिलाई बोलाएनन् । सतिदेवि दक्ष प्रजापतीको यज्ञ स्थलमा गएर पितासँग आफ्ना पति महादेवलाई नबोलाउनाको कारण के हो ? भनेर सोधिन् । दक्ष प्रजापतीले महादेव भाङ, धतुरो सेवन गर्ने, मशानमा वास गर्ने, घाँटीमा सर्पको माला लगाउने, जटाधारी भेषमा रहने, शरीरभरि खरानी घस्ने, बाघको छालाको पहिरन गर्ने हुनाले यो यज्ञमा बस्दा शोभा नहुने भएकाले नबोलाएको भनी उत्तर दिए । आफ्ना पतिको यस्तो अपमान सहन गर्न नसकेर सतिदेविले यज्ञकुण्डको अग्नीमा हाम फालेर प्राण त्याग गरिन् । त्यसपछी महादेव रिशाएर विरभद्रादी शिवगणलाई पठाएर दक्षलाई मारी दक्षको यज्ञा तहस नहस पार्न लगाए । त्यसपछी महादेव पत्नी वियोगमा पागल भएर सतिदेवीको मृत शरिर बोकेर पुरा विश्व घुम्न थाले । यसै बेला भगवान विष्णुले आफ्नो सुदर्शन चक्र प्रहार गरी किरा पारेर सतिदेविको मृत शरिर कुहाए । यसरी ठाउँ ठाउँमा सतिका अङ्गहरू पतन हुँदै (झर्दै) खस्न थाले । यसरी ठाउँ ठाउँमा सतिका अङ्गहरू पतन हुँदै (झर्दै) खस्न थालेपछी जहाँ जहाँ सतिका अङ्ग पतन भए त्यहाँ त्यहाँ एक एकवटा सिद्ध पिठ बन्दै गए । यसै क्रममा मल्लागिरी प्रवतमा सतिको बायाँ कुम पतन भयो । त्यसै मल्लागीरीलाई अहिले मालिका भनिन थालियो । र यहाँ मल्लिका अथवा मालिका देवी शक्ति स्वरूपले रहन थालिन् । तसर्थ यस स्थानमा बडिमालिका मन्दिर स्थापना गरेर पूजा गर्न थालियो ।

बडीमालिका धार्मिक मात्र नभएर पर्यटकिय दृष्टिकोणले  पनि महत्त्वपूर्ण मानिन्छ । नजिकै देखिने सुन्दर हिमाल तथा मनोरम प्राकृतिक दृश्यहरू बडीमालिकाका गहना जस्तै हुन् भन्दा अतिशयोक्ति नहोला । बडीमालिकामा  विशाल फाँटहरू छन् । बडीमालिकामा प्रत्येक वर्ष जनै पूर्णिमाका दिन ठूलो मेला लाग्ने गर्दछ । बडीमालिका मन्दिरमा दर्शन गरेपछि आफ्नो मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएकोछ । मुलुकका विभिन्न जिल्लाका साथै भारतबाट पनि तीर्थालुहरू यहाँ मेला भर्न आउँछन् । भक्तजनहरूले आफूले मागेको वरदान पूरा हुन्छ भन्ने विश्वास गरिन्छ । हालसम्म गंगा–दशहरा र जनै पूर्णिमा गरी वर्षको दुईपटक मात्र चल्दै आएको औपचारीक मेला लाग्ने गर्दछ । सुदुर पश्चिमका पयर्टकीय स्थानहरूमा अति महत्त्वपूर्ण स्थलको रूपमा चिनिने बडिमालिका धार्मिक तथा ऐतिहासिक दृष्टीले महत्त्वपूर्ण मानिन्छ । मन्दिरमा पुग्न बाजुरा जिल्लाको सदरमुकाम मार्तडी बजारबाट पैदल हिंडेर जाँदा २ –३ दिनमा पुग्न सकिन्छ भन्ने जानकारी मेरै सहकर्मी साथीहरूबाट पाए ।  आफुलाई आवश्यक पर्ने चामल पिठो, ओढ्ने ओछाउने र लगाउने कपडा, पकाउने र खाने भाँडाका साथै अन्य सरसमानहरू बोकेर दुर्गम बाटो, उकाली ओराली, भिर पहरा र भञ्ज्याङहरू पार गरेर यहाँ पुग्न कम चुनौती पूर्ण छैन भनेर कैलाली बहसमुखी क्याम्पसका सह–प्राध्यापक डा. महेन्द्र राज जोशीज्यू बताउनु हुन्छ । अग्लो चुचुरोमा रहेको बडिमाईको मन्दिर वरपर विभिन्न प्रकारका सुन्दर फूलहरूले र २२ पाटन (हरिया फाँट) हरूमा चर्दै गरेका भेडा, बाख्रा, भैंसी आदि जनावरहरूले यहाँको शोभा बढाएको हुन्छ । 
मान सिंह धामी (भौनबाटी)
उप–प्राध्यापक
कैलाली बहुमुखी क्याम्पस, धनगढी
मालिकार्जुन गाउँपालिका – ४ हुनैनाथ गोठ्युडी, दार्चुला

 

कमेन्ट लोड गर्नुस