सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमसिसीको समयावधि आजदेखि सुरु हुँदै

२०८० भदौ १३, ०४:४४ खबर संवाददाता

काठमाडौँः  नेपाल सरकार अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) बीच २०७४ भदौ २९ मा भएको मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) को पूर्णरुपमा लागू हुने मिति (इन्ट्री इन् टू फोर्स–इआइएफ) आजदेखि सुरु हुने भएको छ।

आज अर्थ मन्त्रालयमा आयोजना हुने एक औपचारिक समारोहबीच अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसिसीका कम्प्याक्ट सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले इआइएफसम्बन्धी पत्र आदान–प्रदान गर्ने कार्यक्रम छ। यसअघि गत साउन ३१ गते बसेको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) को सञ्चालक समितिले भदौ १३ गतेलाई इआइएफ मिति तोक्ने निर्णय गरेको थियो।

एमसिसी नेपाल कम्याक्टअन्तर्गत बन्ने विद्युत् प्रसारण लाइन र सडक निर्माण आयोजनाको काम इआइएफ मिति घोषणा भएको पाँच वर्षभित्रमा सम्पन्न गरिसक्नुपर्नेछ। यसरी पाँच वर्ष गणना थालिने अवधि इआइएफ हो। सुरुआती सम्झौतामा विसं २०७७ असार १६ गते (२०२० जुन ३०) बाट इआइएफ सुरु हुने भनिएको थियो। एमसिसी कम्प्याक्ट संसद्बाट अनुमोदन गर्ने विषय लामो समयसम्म विवादित बन्दा र कम्प्याक्ट लागू हुनुअघि पूरा गरिसक्नुपर्ने भनिएका काम समयमै नसकिँदा इआइएफ मिति घोषणामा ढिलाइ भएको थियो।
 

कमेन्ट लोड गर्नुस