सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको स्वस्तिक अस्पताल दर्ताबिना सञ्चालनमा, पीडितसँग तीन बुदे सहमति

२०८० भदौ १२, १०:३९ खबर संवाददाता

धनगढीः उपचारको क्रममा बिरामीको मृत्यु भएको धनगढीको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी अस्पताल २०७९ देखि दर्ताबिना सञ्चालन हुँदै आएको पाइएको छ। दर्ताबिना सञ्चालनमा रहेको स्वस्तिक अस्पतालमा  कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको पत्थरीको शल्यक्रियाका क्रममा आइतबार मृत्यु भएको हो।

पत्थरीको शल्यक्रियाका क्रममा मृगौलाको नसा काटिएपछि अत्यधिक रक्तश्राव भएको थियो। त्यसपछि डाक्टरले दोस्रो  शल्यक्रिया गरेर बायाँ मृगौला झिकिदिएका थिए। हालसम्म दर्ता प्रमाणपत्र प्राप्त नगरेको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी अस्पताल प्रालिले सरकारी अनुमति नपाएरै बिरामीको उपचार र जटिल किसिमका शल्यक्रिया गर्दै आएको थियो।

अस्पतालमा शुक्रबार भर्ना भएका चौधरीको बायाँ मृगौलामा दुईवटा र दायाँ मृगौलामा एउटा पत्थरी छ भन्दै बायाँ मृगौलामा रहेका पत्थरी झिक्न अपरेशन गरिएको थियो। चौधरीका भाइ नाता पर्ने विष्णुप्रसाद चौधरीका अनुसार दिउँसो साढे २ बजे शल्यक्रिया गरिएको थियो। शल्यक्रिया सकिएपछि डाक्टरले सुरुमा शल्यक्रिया सफल भएको बताएका थिए। डाक्टरले निकालेको पत्थरी आफन्तलाई देखाएका थिए।

विष्णुप्रसाद र अन्य आफन्तहरू शल्यक्रिया भएको करिब एक घण्टापछि भेट्न जाँदा चौधरीले पेट दुखेको बताएको मृतक चौधरीकी छोरी सुस्मा दहितले बताइन्। ‘बुवाले पेट दुख्यो भन्नुभो। हामीले डाक्टरलाई भन्यौं। त्यसपछि डाक्टरले सुई लगायो। तर, निको भएन। पेट त फुल्न थाल्यो।त्यसपछि हामी आत्तियौं।’ अस्पतालमा कार्यरत सर्जन डाक्टर जोनस तिवारको टोलीले चौधरीको शल्यक्रिया गरेको आफन्तले बताएका छन्।

अस्पतालका डाक्टर जोनस तिवारीले बायाँ मृगौलाको पत्थरी झिक्ने क्रममा किड्नीको नसा काट्न पुग्दा अत्याधिक रक्तश्राव भएको र त्यसपछि मृगौला झिक्न अर्को शल्यक्रिया गर्दा बिरामीको मृत्यु भएको हो। दोस्रो शल्यक्रिया पश्चात् बिरामीको अवस्था थप नाजुक भएपछि डाक्टरले अब सकिँदैन भनेर भनेको आफन्तले बताएका छन्।

मृतकी छोरी सुस्मा दहितका अनुसार पहिलो शल्यक्रिया गर्नुपूर्व बिरामीको शरीरमा ६ प्वाइन्ट रगत रहेकोमा शल्यक्रिया पश्चात् घटेर दोस्रो शल्यक्रिया गर्न लैजाँदा दुई प्वाइन्ट मात्रै रगत रहेको बताएकि छिन। शनिबार रातभर रेडक्रसको रक्तसञ्चार केन्द्रबाट चौधरीलाई २३ प्वाइन्ट रगत चढाइएको थियो। डाक्टरले शल्यक्रियासफल भयो भनेर झुठो बोलेर आफ्नो गल्ती ढाकछोप गर्न खोजेको मृतका सम्धी पुनाराम चौधरीले बताए। उनले भने, ‘गल्तीको सजाय अस्पताल र डाक्टरले पाउनुपर्ने हुन्छ।

अस्पताल खुल्दाखुल्दै बदमासी गरिएको छ। मान्छेको ज्यानमाथि गरिएको खेलबाड क्षम्य हुनुहुन्न।’ डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आएका मृतकका आफन्तले सोमबार दिउँसोदेखि अस्पताल क्षेत्रको सवारी यातायात बन्द गराएका थिए। बिरामीको मृत्यु भइसकेको सूचना शल्यक्रियामा संलग्न डाक्टर र अस्पतालले लुकाएर बिरामी जीवित रहेको भनेकाले मृतकका आफन्त आक्रोशित भएका थिए।

सोमबार साँझ भने अस्पताल प्रशासन र मृतकका परिवार बीच तीन बुँदे सहमति भएको मृतकका भतिजा राजकुमार चौधरीले बताए। उनका अनुसार एमबीबीएस अध्ययनरत छोरा ज्योतिप्रकाश चौधरीको पढाई खर्च अस्पतालले ब्यहोर्ने, मृतकका २ छोरीहरुको विवाह खर्च ब्यहोर्ने र उपचारमा लापरबाही गर्ने डाक्टर जोनेस तिवारीलाई कारबाही गर्ने सहमति भएको छ।

यसैबिच, उक्त अस्पतालले हालसम्म दर्ता प्रमाणपत्र प्राप्त नगरेको बुझिएको छ। अस्पतालले २५ शय्या दर्ताका लागि स्वास्थ्य निर्देशनालयमा कागजात पेश गरेको तर अनुमति भने पाइसकेको छैन। यसका लागि केही कागजात नपुगेको निमित्त निर्देशक डाक्टर जगदीश जोशीले बताएका छन्। ‘अस्पतालको डकुमेन्ट आएको छ, केही कागजपत्र अपुग भएकाले अध्ययनकै क्रममा छ,’ उनले भने। अस्पतालले २०७९ माघ देखि उपचार सेवा सुरु गर्दै आएको छ।

कमेन्ट लोड गर्नुस