सुदूर नेपाललाई विश्वसँग जोड्दै

भदौ १३ बाट कार्यान्वयनमा जाँदै एमसीसी

२०८० भदौ १०, ०८:२१ खबर संवाददाता

काठमाडौंः  मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना यही भदौ १३ गतेबाट कार्यान्वयनको चरणमा जाँदैछ। परियोजना कार्यान्वयन कार्यालय मिलिनियम च्यालेन्ज एकाउन्ट नेपालका अनुसार पूर्व तयारीको चरणबाट कार्यान्वयनको चरण (इण्ट्री इनटु फार्स)मा जाँदैछ। आगामी ५ वर्षमा परियोजना सम्पन्न हुनुपर्ने छ।

तत्कालीन सरकारले मन्त्रिपरिषदबाट निर्णय गरी २०७६ असार ३० गते अनुमोदनका लागि संसदमा दर्ता गरेको थियो। २०७८ फागुन ८ गते टेबल भएको सम्झौता फागुन १५ गते संसदबाट अनुमोदन भयो। अनुमोदन पछि एमसीसी अन्तर्गतको अनुदान सहयोग ५० मिलिनियम अमेरिकी डलर नेपालले पाउनेछ।

एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम अन्तर्गतका दुई वटा आयोजना विद्युत् प्रसारण आयोजना र सडक मर्मत आयोजना अन्तर्गत हालसम्म पूर्वतयारी चरणका कार्यहरू भएको परियोजनाले जानकारी गराएको छ। परियोजनाले विद्युत् प्रसारण आयोजनाका लागि वातावरणीय प्रभाव मूल्यांकन गरिसकेको छ भने यसलाई नेपाल सरकारले स्वीकृत पनि गरिसकेको छ। एमसिए–नेपालले विद्युत् प्रसारण आयोजना अन्तर्गत प्रसारण लाइन एवं सबस्टेशन निर्माण सुपरिवेक्षण इञ्जिनियरको खरिद प्रक्रियालाई अगाडि बढाइरहेको छ। परियोजनाले गएको जेठ महिनामा प्रसारण लाइन निर्माणका लागि परेका ६ वटा बोलपत्र सार्वजनिक गरेको थियो।

बोलपत्रको छनोट एमसीसी कार्यक्रम खरिद मार्गनिर्देशिकामा आधारित एमसिए–नेपालको खरिद प्रक्रिया अनुरूप गरिनेछ। प्रसारण लाइन तथा सबस्टेशन निर्माण क्रियाकलापको सुपरिवेक्षणका लागि परामर्शदाता सेवा आपूर्ति प्रक्रियालाई पनि एमसिए–नेपालले अगाडि बढाएको छ। बोलपत्र दाखिला गर्ने अन्तिम मिति २०८० साल भदौ १८ गते तोकिएको छ।
 

कमेन्ट लोड गर्नुस