सुदूर नेपाललाई विश्वसँग जोड्दै

रास्वपाको मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी चयन, संसदीय समितिका नेतृत्व पनि टुंगो

२०८३ वैशाख ३, ०३:३९ खबर संवाददाता

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कविन्द्र बुर्लाकोटीलाई प्रतिनिधिसभा संसदीय दलको मुख्य सचेतकमा चयन गरेको छ। बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले उनलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो।

बैठकले प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई सचेतकको जिम्मेवारी दिने निर्णय समेत गरेको छ। साथै, पार्टीका सांसद र मन्त्रीहरूका लागि लेबी निर्धारण गर्ने प्रस्ताव पनि पारित गरिएको छ। निर्णय अनुसार सांसदहरूले मासिक १६ हजार ५ सय र मन्त्रीहरूले १८ हजार रुपैयाँ लेबी तिर्नुपर्नेछ। मन्त्रीका स्वकीय सचिवहरूका लागि २ हजार रुपैयाँ लेबी तोकिएको छ।

यसैगरी, संसदीय दलको बैठकले सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी दललाई समर्थन गर्ने निर्णय गरेको छ। लेखा समिति बाहेक अन्य ११ वटा संसदीय समितिका सभापतिहरूको नाम समेत टुंगो लगाइएको जानकारी मुख्य सचेतक बुर्लाकोटीले दिएका छन्।

संसदीय समितिका सभापति चयनका लागि शुक्रबार निर्वाचन हुने तय भएको छ।
 

कमेन्ट लोड गर्नुस