सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम विश्वविद्यालय गतिविधिः एक समालोचना

२०८० साउन २८, ११:०७ खबर संवाददाता

मानसिंह धामीः मैले समाजिक सञ्जालबाट विभिन्न लेख, आलेख, परिदृश्य चिनारीहरू संप्रेषण गर्दैगर्दा आफूलाई नेपथ्यमा राखेर हेर्दा पाठकहरूको लेखक प्रतिको दृष्टिकोण अलिकति फरक रहेको महसुस गरिनु स्वभाविक नै हो। यस लेखमा लेखक शब्द प्रयोग गरिएकोमा आफू कुनै विषयको ज्ञाता तथा विज्ञ नभएर कुनै विषयवस्तुको बारेमा निष्पक्ष, सत्यतथ्य र निःस्वार्थ यथार्थ विषयहरुको बारेमा कलम चलाउने व्यक्तिलाई लेखक भन्न खोजिएको व्यहोरा अनुरोध गर्दछु।

सुदूरपश्चिम विश्वविद्यालयको स्थापना २०६७ सालमा भएको हो। यस सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका अन्तर्गत निम्बुखेडा महेन्द्रनगरमा छ। यस विश्वविद्यालयमा विभिन्न संकाय, विभागहरू रहेका छन्। विश्वविद्यालय भन्ने बित्तिकै सबै कुराहरूको बयान गरिरहनु नपर्ला। विश्वविद्यालयले व्यापक क्षेत्र ओगटेको हुन्छ। डेढ दशक पूरा हुनै लाग्दा विश्वविद्यालय विभिन्न अवरोह आरोह पार गर्दै आफ्नो  गन्तव्यमा लम्कदै छ।

मैले समय समयमा विश्वविद्यालय गतिविधि सम्बन्धी समसामयिक विषयहरु पनि सामाजिक सञ्जाल पत्रपत्रिका, फेसबुक, अनलाइन खबर, मेसेन्जर ग्रुप, ट्विटर लगायत मार्फत संप्रेषण गर्ने गरेको छु। हुन त आफूलाई कसले पो ‘नजाति छुँ, नराम्रो छुँ’ भन्छ र! मैले पनि आफ्नो कर्मथलोलाई नराम्रो भन्ने कुरा पनि भएन।

आज मैले यस लेखमा अनुभूति गरेका, प्रत्यक्ष अवलोकन, विद्यार्थीहरूसँगको निरन्तर सम्पर्कबाट जानकारीमा आएका विश्वविद्यालय तथा मातहतका क्याम्पसहरूका सबल र दुर्बल पक्षहरूको समालोचनात्मक विश्लेषण गर्ने प्रयास गरेको छु। उपयुक्त शब्द चयन गर्न नसकेपनि म समालोचक पनि होइन। हामी काम गरिखाने वर्ग हौं, राज्यशक्तिको तथा पदशक्तिको दुरुपयोग नगरेर सबै नेपाली नागरिकहरूले आफ्नो पेशागत हकअधिकारको लागि लड्नु पर्दछ तथा आवाज उठाउनु पर्छ भन्ने हेतुले नै मैले पनि आवाज उठाउँदै आएको छु।

कलम चलाउँदै गर्दा पाठकले आफ्नो बुझाई अनुसारको टिप्पणी गर्नु अनौठो कुरा होइन र म ती टिप्पणीहरूको कदर गर्दछु र टिप्पणीकारलाई धन्यवाद पनि दिन्छु। सुदूरपश्चिम विश्वविद्यालयको गतिविधि सम्बन्धि मैले समय समयमा आफूले जानेका तथा भोगेका कुराहरूको बारेमा आवाज उठाउँदै आएको कुरा सर्वविदितै छ। मैले आवाज उठाउँदै आएपनि ‘सुन्दैन यदि सुन्नेले, बोल्नेले मात्र गर्नु के, नङ्गाका देशमा धोवीगई पाउँछ काम के’! भने जस्तै मेरो बोलीको अर्थ नहुन पनि सक्छ।

विश्वविद्यालयले सुदूरपश्चिमका विभिन्न सामुदायिक क्याम्पसहरूलाई विश्वविद्यालय अन्तर्गत समायोजन गरिदैं लगिनु, समायोजन भएका क्याम्पसहररूबाट नै विश्वविद्यालयका विभिन्न विभाग, संकायहरूमा पदाधिकारी चयन गरिनु, विभिन्न प्राविधिक विषयहरूको पठनपाठन आरम्भ गरिनु, विभिन्न विषय समितिहरूद्वारा पाठ्यक्रम निर्माण गरिनु, शैक्षिक नेतृत्व हस्तान्तरण गरिंदै लगिनु लगायतका कार्यहरू प्रसंशनीय हुँदाहुँदै पनि राजनीतिक भागबन्डाका आधारमा पदाधिकारी चयन गरिनु, विश्वविद्यालय अन्तर्गतको छाता संगठन प्राध्यापक संघलाई नाटकीय ढङ्गले बेवास्ता गरिएको छ।

ओझेलमा पार्नु, नातागोता तथा पहुँचका आधारमा परीक्षामा सुपरिवेक्षक, पर्यवेक्षक खटाउनु, उत्तरपुस्तिका परिक्षण गर्ने जिम्मा सम्बन्धित विषय शिक्षकको जिम्मामा नदिएर बोलवाला तथा केन्द्रीकृत हुनु, वरियताक्रमको नाममा जुनियरलाई कुनै कामको जिम्मा नै नदिएर जेष्ठता नै सर्वेसर्वा, मातहतका क्याम्पसहरूमा हुने विभिन्न विषयका प्रयोगात्मक परीक्षाहरूको जिम्मा केही सिमित बोलवालालाई मात्र दिइनु विडम्बना हो।

मातहतका क्याम्पसहरूमा विभिन्न विषयहरू पठनपाठनका लागि केन्द्रबाट परिपत्र जारी नगरिनु, पिरियडहरू मनोमानी ढङ्गले वितरण गरिनु, विषयगत रुपमा तालिमको व्यवस्था नगरिनु जस्ता कार्यहरूको निन्दा गर्दा के नै फरक पर्ला र! किनकी हामी पनि यो देशका नागरिक हौं। उच्च पदस्थ कार्यकारीको हैसियतमा नपुगे पनि समानतालाई पनि ध्यानमा राख्नको लागि ध्यानाकर्षण गराउन चाहन्छु।

यो आवाज केबल मेरो मात्र नभएर सरोकावाला सबैको साझा एजेन्डा बन्नुको विकल्प छैन। हालसालै सबै क्याम्पसहरूमा नयाँ क्याम्पस प्रमुखहरूको नियुक्ति गरिएको छ। सम्पूर्ण नवनियुक्त क्याम्पस प्रमुखज्यूहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना पनि व्यक्त गर्दछु। 

यो विश्वविद्यालयसँग मेरो पनि माना जोडिएको हुँदा धेरै कुराको टिप्पणी गर्दा पाठकहरूले बिभिषणको उपमा पो दिने हुन कि? तर ‘मुटुमाथि ढुङ्गा राखी’ भन्नू पर्दा माथि उल्लेखित कुराहरूको सुधारको लागि विश्वविद्यालय तथा सम्बन्धित निकाय एवम् पदाधिकारीहरूको ध्यानाकर्षण गराउन चाहन्छु।

आफूलाई चित्त नबुझेका कुराहरू व्यक्त गर्ने नेपालको संविधान २०७२ को भाग ३ मौलिक हक र कर्तव्य अन्तर्गत धारा १७ को उपधारा २ खण्ड (क) बमोजिम विचार र अभिव्यक्तिको स्वतन्त्रता र धारा १९ को सञ्चारको हक अन्तर्गत उपधारा (१) बमोजिम विद्युतीय प्रकाशन, प्रसारण तथा छापा लगायतका जुनसुकै माध्यमबाट कुनै समाचार, सम्पादकीय, लेख, रचना वा अन्य कुनै पाठ्य, श्रव्य, श्रव्य–दृश्य सामग्रीको प्रकाशन तथा प्रसारण गर्न वा सूचना प्रवाह गर्न वा छाप्न पूर्व प्रतिबन्ध लगाइने छैन भन्ने भावार्थबाट निसंकोच विचार र अभिव्यक्तिको स्वतन्त्रता र तथ्यपरक कुराहरू संप्रेषण गर्दा के नै फरक पर्ला र? उडान गर्दाको जेटविमान रुपी विश्वविद्यालय अवतरण गर्दा ट्वीनेटर विमानको रुपमा परिणत हुनु दुःखद कुरो हो।

विमानमा सवार यात्रुहरू सकुल अवतरणको कामना सहित भगवानको नाम जप्दै चिच्याइ रहेका छन्। अब आफै भन्नुस् गल्ति पाइलटको कि विमानको? या विमानमा सवार यात्रुहरूको? अतः विमानमा सवार म लगायतका सम्पूर्ण यात्रुहरूको स–कुसल अवतरणको कामना गर्दै अहिलेलाई भने कलमलाई बिट मार्छु। धन्यवाद। (लेखक धामी कैलाली बहुमुखी क्याम्पसका उप–प्राध्यापक हुन।)

कमेन्ट लोड गर्नुस