सुदूर नेपाललाई विश्वसँग जोड्दै

आफ्ना सन्तानलाई भोकै राखेको भन्दै आमाबुवालाई जन्मकैद

२०७६ वैशाख ७, ०२:५६ खबर संवाददाता

आफ्ना सन्तानलाई भोकभोकै राखेको तथा शारीरिक र मानसिक यातना दिएको आरोपमा अमेरिकाको क्यालिफोर्नियाका दुई अभिभावकलाई अदालतले जन्मकैदको फैसला सुनाएको छ।

तर, उनीहरुलाई छोराछोरीले भने माफी दिएका छन्। डेविड र लुइज टर्पिनका छोराछोरीले अदालतमा आफूहरुले अझै पनि आमा र बुवालाई माया गर्ने बताएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन्।

डेविड र लुइज सन् २०१८ को जनवरीमा पक्राउ परेका थिए। उनीहरुकी १७ वर्षीया छोरी क्यालिफोर्नियाको पेरिसमा रहेको घरबाट भाग्न सफल भएपछि दम्पत्तीलाई पक्राउ गरिएको थियो।
उनीहरुले पछिल्लो ९ वर्षदेखि आफ्ना १३ सन्तानलाई यातना दिँदै आएका थिए। शुक्रबारको सुनुवाइका क्रममा चार सन्तानको बयान सुनाइएको थियो।

बयानका क्रममा एक सन्तानले आफू दुवै अभिभावकलाई माया गर्ने बताए। उनले आफूहरुलाई हुर्काउन बाबुआमाले गरेको उपाय राम्रो नभए पनि त्यो गरेकोमा आफूलाई गर्व लागेको बताए।
अर्का एकले आफूहरु हुर्किने क्रममा भएका घटनाको वर्णन नै गर्न नसकिए बताए। विगतको त्यो घटनामा बाबुआमालाई माफी दिने उनले बताए।

अदालतमा बयान दिने सबैले भने उनीहरुलाई माफी दिएका छैनन्। अदालतले फैसला सुनाउने क्रममा ५७ वर्षका डेविड र लुइजले सन्तानसँग गरेको व्यवहारप्रति माफी माग्दै रोएका थिए।

आफूहरुले राम्रो नियत राखेर होमस्कुलिङ र अनुशासन सिकाएको उनीहरुको भनाइ थियो। डेविडले आफूले कहिले पनि सन्तानलाई नोक्सानी गर्न नचाहेको र उनीहरुलाई माया गर्ने बताए।

कमेन्ट लोड गर्नुस