विपिन कार्कीको मुख्य भूमिकामा फिल्म ‘तेल भिसा’ बन्ने
काठमाडौंः अभिनेता विपिन कार्कीलाई शीर्ष भूमिकामा लिएर फिल्म ‘तेल भिसा’ निर्माण हुने भएको छ।
शंकर घिमिरेको निर्माण तथा निर्देशनमा बन्न लागेको फिल्ममा विपिन अनुबन्धित भएका छन्। तिहारपछि नेपाल र अमेरिकामा छायांकन हुने जनाइएको फिल्ममा उनको दोहोरो भूमिका हुनेछ। सोसल–कमेडी ड्रामा जनरामा बन्न लागेको फिल्मले सुत्केरी स्याहार्न अभिभावकलाई अमेरिकामा बोलाइने प्रवृत्तिलाई कटाक्ष गर्नेछ। सोही प्रवृत्तिलाई व्यंग्य गर्दै ‘तेल भिसा’ नामाकरण गरिएको स्रोतले जनाएको छ।
यो फिल्मका लागि विपिनले अहिलेसम्मकै महंगो पारिश्रमिक लिएको चर्चा पनि छ। लिड एक्ट्रेस र अन्य कलाकार चाँडै सार्वजनिक हुने जनाइएको छ। घिमिरेले निर्देशन गरेको पछिल्लो फिल्म ‘तुलसी’ २०७६ सालमा रिलिज भएको थियो। त्यसअघि उनले ब्रेकफेल, वीरताको चिनो र विष निर्देशन गरेका थिए। घिमिरे अभिनेत्री ऋचा घिमिरेका श्रीमानसमेत हुन्।