सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडी साक्षर जिल्ला घोषणा

२०७६ वैशाख ७, ०६:४६ खबर संवाददाता

बैतडी–बैतडी साक्षर जिल्ला घोषणा भएको छ। शुक्रबार एक कार्यक्रमकाबिच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले जिल्लालाई साक्षरता जिल्ला घोषणा गरेका हुन्। जिल्लामा १५ देखि ५९ बर्ष सम्मका नागरिक मध्ये ९६ दशमलव ९२ प्रतिशत नागरिक साक्षर भएपछि जिल्लालाई साक्षरता जिल्ला घोषणा गरिएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताए। अनौपचारिक शिक्षा अन्तर्गत विभिन्न कक्षाहरु सञ्चालन गरेर साक्षरता अभियान सञ्चालन गरेको र  सोही अभियानको फलस्वरुप बैतडी साक्षर जिल्ला घोषणा भएको उनले बताए।

बैतडी देशको ४९ औं जिल्लाको रुपमा साक्षर जिल्ला घोषणा भएको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ। साक्षर जिल्ला घोषणा कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले व्यवहारिक र सीपयुक्त शिक्षा आजको आवश्यकता भएको औंल्याएका छन्। शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि पनि सरकार लागि परेको मन्त्री पोखरेलले बताए। जिल्लालाई साक्षर घोषणा गर्नुअघि दशओटै स्थानीय तहहरुलाई साक्षर घोषणा गरिएको थियो। प्रत्येक स्थानीय तहबाट तथ्यांक संकलन गरेर साक्षर घोषणाका मापदण्ड पूरा भएपछि जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको शिक्षा समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले बताए। बैतडी जिल्ला साक्षर घोषणा कार्यक्रममा बैतडीबाट निर्वाचित संघीय सांसद दामोदर भण्डारी, प्रदेशसभा सदस्य लीलाधर भट्ट लगायतको सहभागिता रहेको थियो। 
 

कमेन्ट लोड गर्नुस