सुदूर नेपाललाई विश्वसँग जोड्दै

चलचित्र ‘जय हो’को पहिलो गीत सार्वजनिक 

२०८० साउन १, ०५:२५ खबर संवाददाता

काठमाडौंः  प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जय हो’को पहिलो गीत सार्वजनिक भएको छ।

सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा गीत सार्वजनिक गरिएको हो। कार्यक्रममा कलाकारहरु अर्पण थापा, केकी अधिकारी, सलोन बस्नेतलगायतले गीतबारे चर्चा गरे। ‘जोमसोमको डाँडैमा हिउँ खेल्न जाने कि’ बोलको उक्त गीतले फिल्ममा पात्रको मनोदशा र सम्बन्ध निर्माणमा भूमिका खेलेको छ। सार्वजनिक गीतमा शम्भुजीत बास्कोटाको शब्द रचना तथा संगीत छ। सुरेश लामा र अस्मिता अधिकारीको स्वर समावेश गीतको भिडियोमा कविराज गहतराजको नृत्य निर्देशन छ।

गीतमा कलाकारहरु अर्पण, सलोन, केकीसहित निशा अधिकारी र माओत्से गुरुङ फिचर्ड छन्। टेक पौरखी राईको निर्देशन निर्माण भएको फिल्ममा प्रेम पाण्डे,  दीपशाक्य श्रेष्ठ, सुबी मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ लगायतका कलाकारको पनि अभिनय छ।

फिल्मका प्रस्तुतकर्ता शोभित बस्नेतले गीत रिलिजसँगै फिल्मको प्रचार अभियान औपचारिक रुपमा सुरु भएको बताए। पछिल्लो समय दर्शकले प्रेमकथा र सम्बन्धका कथावस्तु रुचाइरहेको भन्दै शोभितले यो फिल्मलाई पनि दर्शकले रुचाउने विश्वास व्यक्त गरे। भदौ ८ गतेदेखि फिल्म प्रदर्शनमा आउने छ।
 

कमेन्ट लोड गर्नुस