सुदूर नेपाललाई विश्वसँग जोड्दै

लक्ष्मण रिजालको फिल्म ‘काजी’ मा वर्षा सिवाकोटी मुख्य नायिका

२०८० असार २७, ०५:५८ खबर संवाददाता

काठमाडौंः  लक्ष्मण रिजालको निर्देशनमा रोमान्टिक–सोसल ड्रामा फिल्म ‘काजी’ निर्माण हुने भएको छ।

आगामी सेप्टेम्बरदेखि बेलायतमा छायांकन हुने यो फिल्मको रिलिज मिति वैशाख १ गतेलाई तय गरिएको छ। फिल्म ‘गणपति’को रिलिजअघि नै निर्माताले बुधबार नयाँ फिल्मको घोषणा गरेका हुन्। शीर्ष अभिनेता तय भइनसकेको फिल्ममा वर्षा सिवाकोटी, विजय बराल, बुद्धि तामाङ, सुमन कार्की र कैलाश कार्की कलाकारको रुपमा फाइनल भएका छन्।

सुनिल मानन्धरको श्रीराम बालाजी पिक्चर्सले वितरण गर्ने यो फिल्म सन् २०१२–०१३ को बेलायती परिवेशमा छायांकन गर्ने तयारी छ। फिल्मबारे निर्देशक रिजालले भने, ‘प्रेमकथा र सामाजिक कथावस्तुमा बन्न लागेको यो फिल्मले १० वर्षअघिको बेलायतको परिवेश र कथा भन्छ। दर्शकले रुचाउने विश्वास हामीले लिएका छौं।’ रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा बन्ने यो फिल्मका निर्माता रामप्रसाद रिजाल हुन्।

यो ब्यानरबाट निर्माण भएको फिल्म ‘गणपति’ भदौ १४ गते प्रदर्शनको तयारीमा छ। वितरक मानन्धरले चाँडै यो फिल्मलाई लिएर औपचारिक घोषणा हुने बताए। ‘गणपति’पछि मानन्धरले वितरण गर्ने फिल्म ‘क्यामिनो’ छायांकनको तयारीमा छ।

कमेन्ट लोड गर्नुस