सुदूर नेपाललाई विश्वसँग जोड्दै

'हरित धनगढी अभियान'मा उपमहानगरलाई सहयोग जुट्दै

२०८० असार २५, ०७:४७ खबर संवाददाता

धनगढीः हरित धनगढी अभियानमा विभिन्न संघसंस्था र व्यक्तिहरू जोडिन थालेका छन्। सुन्दर र हरियालीयुक्त धनगढी बनाउने उद्देश्यसहित धनगढी उपमहानगरपालिकाले सुरु गरेको अभियानमा सर्वसाधारण र संघ संस्थाले आर्थिक सहयोग गर्न थालेका हुन्।

हरियाली बढाउने र धनगढीलाई पर्यावरणमैत्री बनाउने उद्देश्यका साथ कैलाली भन्सारदेखि गेटासम्मको ६ लेन सडकको दुवैतर्फ वृक्षरोपण गर्न जनसहभागिता जुट्न थालेको हो।

सोमबारदेखि सुरु भएको अभियानमा ग्लोबल आइएमई बैंकले ४ लाख सहयोग गरेको छ। नगरप्रमुख गोपाल हमालले एक बिरुवा बराबर पाँच हजारका दरले ग्लोबल आइएमई बैंकले ८० बिरुवा रोप्न रकम सहयोग गरेको बताए। 

यसैगरी, धनगढीको एसपीए कलेजले ६ लेनमा रहेका २० वटा विरुवा संरक्षणको जिम्मा लिएको छ । नगरप्रमुख हमालले सोमबार धनगढी चौराहामा एसपीए कलेज अंकित रुख रक्षा जाली (ट्री गार्ड)को उद्घाटन गर्दै सम्पूर्ण धनगढीवासीलाई अभियानमा सहयोगी बन्न आह्वान गरेका छन्। एसपीएका प्रबन्ध निर्देशक सुवाष शाहीले २० विरुवा संरक्षणका लागि तोकिएको शुल्क उपमहानगरपालिकालाई हस्तान्तरण गरेका छन्।May be an image of 2 people and text

यस्तै, धनगढीको सौराई स्क्वायरले ४ ओटा विरुवा संरक्षणका लागि २० हजार, सिगास मिडिया हब प्रालिका सञ्चालक चन्द्रकान्त अबस्थीले १२ विरुवा संरक्षणका लागि ६० हजार र पत्रकार दिलबहादुर छत्यालले १ विरुवाका लागि नगद ५ हजार उपमहनगरपालिकालाई हस्तान्तरण गरेको नगरप्रमुख हमालले बताए। हरित धनगढी अभियानमा बझाङको बुङल नगरपालिका वडा नम्बर ४ डिलका दुशासन कुँवरले पाँच हजार र प्यूठान जिल्लाको प्यूठान नगरपालिकाका रामलाल श्रेष्ठले पनि पाँच हजार सहयोग गरेका छन्।

कमेन्ट लोड गर्नुस