अत्तरियाको मालाखेती अस्पतालका स्वास्थ्यकर्मीले ७ महिनादेखि तलब पाएनन्

धनगढीः कैलालीको अत्तरियास्थित मालाखेती अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले ७ महिनादेखि तलब पाउन सकेका छैनन्। पालिकाबाट आएका कर्मचारीहरुले तलब पाए पनि संघीय सरकारबाट खटिएका स्वास्थ्यकर्मीले भने तलब पाउन सकेका छैनन्। नगर अस्पतालको रुपमा सञ्चालित मलाखेती अस्पतालमा पर्याप्त भौतिक पूर्वाधार नहुँदा स्वास्थ्य उपचारमा समेत समस्या हुँदै आएको छ।
प्रदेशको राजधानी क्षेत्रमा रहेको अस्पताललाई ट्रमा हस्पिटल बनाउन सकिए दुर्घटना परेर घाइते भएकाहरुको उपचार गर्न सहज हुने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डाक्टर नरबहादुर मौनीले बताए। ‘मालाखेती अस्पताललाई ट्रमा हस्पिटलको रुपमा विकास गर्नुपर्छ। प्रदेशको राजधानीमा रहेको अस्पतालको क्षमता विकास गर्नु आवश्यक छ’ उनले भने, ‘प्रदेश सरकारले मालाखेती अस्पताललाई प्रदेशकै ट्रमा हस्पिटल बनाउनुपर्छ।’
अत्तरियाको मालाखेती प्राथमिक स्वास्थ्य केन्द्रलाई २०७० मा मालाखेती अस्पताल नामाकरण गरिएको हो। १५ शय्याको नगर अस्पतालको रुपमा सञ्चालित मालाखेती अस्पतालमा एक जना विशेषज्ञसहित चार जना चिकित्सक कार्यरत छन्। तर, चारै जना छात्रवृत्ति करार सेवामा कार्यरत छन्। अस्पतालमा १४ जना नर्सिङ स्टाफ छन्। २८ जनाको स्थायी दरबन्दी रहेको अस्पतालमा ५२ जना जनशक्ति कार्यरत रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अन्वेष कोइरालाले बताए।
मालाखेती अस्पतालमा दैनिक दुई सय बिरामी आउने गरेका छन्। अस्पतालमा आकस्मिक सेवा, प्रसूति सेवा, टिबी तथा एचआइभी उपचार सेवा, दाँत उपचार सेवा, जनरल मेडिसिन, एक्सरे सेवा, प्रयोगशाला सेवा र अस्पताल फार्मेसी सेवा सञ्चालनमा छन्। ६० प्रतिशत बिरामी स्वास्थ्य बिमा उपभोग गर्ने रहेको अस्पतालले जनाएको छ। तर, संघबाट खटिएका चार जना चिकित्सकसहित स्वास्थ्यकर्मीले भने ६ महिनादेखि तलब नपाएको डाक्टर कोइरालाले बताए।
‘नगरपालिकाबाट आएका स्वास्थ्यकर्मीले नियमित तलब पाएका छन्। हामी संघबाट आएका चिकित्सक र स्वास्थ्यकर्मीले भने अझै तलब पाउन सकेका छैनौँ।’ अस्पतालमा आउने बिरामी बढे पनि भौतिक पूर्वाधारको अवस्था कमजोर छ। अस्पतालको सेवा बिस्तार गर्न भौतिक संरचनाको कमि छ।
स्थानीयको अस्पतालप्रति भरोसा र विश्वास आर्जन गर्न भौतिक अवस्था र जनशक्ति दुबै हुनुपर्ने भए पनि १५ शय्याका लागि जनशक्तिको समस्या नभए पनि भौतिक पूर्वाधारको भने अभाव रहेको अस्पतालका अध्यक्ष डाक्टर नरबहादुर मौनीले बताए। ‘मालाखेती अस्पतालमा भौतिक पूर्वाधारको कमि छ। अस्पतालसँग जग्गा पनि निकै थोरै छ’ उनले भने, ‘भौतिक पूर्वाधारसँगै अस्पतालको सबै क्षमता विकास गर्न नगरपालिकाले प्रदेश सरकारसँग समन्वय गरिरहेको छ।’



