सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘रोजी’ को हत्या आरोपमा अदालत पुगे प्रदीप

२०७५ जेठ ३, ०३:४२

अभिनेत्री परमिता आरएल राणा उर्फ रोजी राणाको हत्या अभियोगमा झण्डै ५ वर्षदेखि जेल सजाय भोगिरहेका अभिनेता प्रदीप खड्कालाई बुधवार अदालतमा उपस्थित गराइएको छ । हातमा हतकडी, लामो कपाल, नकाटिएको दाह्री(जुँगामा उनले अदालतको कठघरामा उभिएर आफ्नो बयान दिए । उनले रोजीको हत्या आफूले नै गरेको स्विकार गरेका छन् । चकलेटी लुक्सका धनी उनलाई कैदी गेटअपमा सजिलै चिन्न निकै गाह्रो पर्थ्यो ।

बुधबारबाट सुरु भएको फिल्म ‘रोजी’ को पहिलो दिनको सुटिङ प्रेमिकाको हत्या आरोपमा अदालतमा प्रदीपलाई उपस्थित गराएसँगै सुरु भएको छ । ’प्रेमगीत’, ’प्रेमगीत २’, ’लिलिबिली’ मा प्रेमिकाको प्रेममा ’दिवाना’ बनेका प्रदीप ‘रोजी’ मा भने प्रेमिकाको हत्याका आरोपी बनेका छन् । किन गरे त प्रेमिकाको हत्या ? अदालत सामु उनी भन्दै थिए, ’मैले रोजीलाई मारेको होइन । मुक्ति दिएको हुँ ।’ उनले प्रेमिकाको हत्या गर्नुको कारण भने खुलाएनन् ।

अब यो सस्पेन्स त फिल्म रिलिजपछि मात्र खुल्नेछ । यसमा प्रदीप र परमिताका अलावा मिरुना मगर, कर्मा शाक्य, बरुण आरएल राणा, रविन्द्र खड्का, प्रकाश श्रेष्ठलगायतका कलाकारहरुको अभिनय रहनेछ । यस फिल्मको सुटिङ बालाजुको एनएफडिसी हलबाट सुरु भएको हो । फिल्मको मुहर्त सट प्रदीपले अदालतमा उपस्थित भएर दिए । प्रदीपले आफ्नो संवाद सकाएपछि पत्रकारको प्रश्नसँग जुध्न अदालतको ड्यासमा प्रदीपकी रिल प्रेमिका परमिता उर्फ रोजी र मिरुना पनि उभिए ।

परमिताले आफूलाई प्रदीपले हत्या गर्नुको कारण खुलाइनन् तर उनीसँग काम गर्न पाउँदा अत्यन्त खुसी महशुस गरेको बताइन् । प्रदीपले यस फिल्मका लागि २५ लाख पारिश्रमिक बुझेको चर्चा छ । पत्रकारले यस विषयमा प्रश्न गर्दा उनले घुमाउरो शैलीमा कुरा मोडे । अभिनेता कर्मा ’रोजी’ को एक सदस्य बन्न पाएकोमा दंग देखिन्थे । उनले भने, ’प्रदीप जस्तो सुपरस्टारसँग काम गर्न पाउँदैछु । यो नै मेरो लागि ठूलो कुरा हो ।’ उता मिरुनाले फिल्मबाट आफू बाहिरिएको खबरको विषयमा असन्तुष्टि व्यक्त गरिन् ।

उनी भन्छिन्, ’म सुरुदेखि नै ’रोजी’ मा थिएँ । बाहिरिएको खबर कसरी आयो म आफैं अचम्मित छु । यस विषयमा कमसे कम मिडियाले मलाई त एकपटक सोध्नु पर्छ ।’ यसअघि उनले ’लालपूर्जा’ मा अभिनय गरेकी थिइन् । गोपीकृष्ण मुभिज र आरोही इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने फिल्मको प्रस्तुतकर्तामा उद्धव पौडेल रहेका छन् । आयरा पौडेल र आरोही केसीको निर्माण रहने ‘रोजी’ लाई राजु विक्रम थापाले खिच्नेछन् । केदार भुषालको कथामा तयार हुन लागेको फिल्मको सम्पादन मित्र डि गुरुङले गर्नेछन् । अर्जुन पोखरेलको संगीत रहने यस फिल्ममा कबिराज गहतराज र रिशब टोट्लानीको कोरियोग्राफी रहनेछ । यस फिल्मलाई निरक पौडेलले निर्देशन गर्दैछन् । यसअघि उनले ’कुसुमे रुमाल २’ र ’होमवर्क’ निर्देशन गरिसकेका छन् ।
http://www.filmykhabar.com/बाट
 

कमेन्ट लोड गर्नुस